माघ–२५, खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा बेलीब्रीज सञ्चालनको तयारी गरिएको छ । 
जयराममा सञ्चालित फेरी दुधकोशीले बगाएको आठ महिनापछि त्यसको बिकल्पमा बेलीब्रीज सञ्चालनको तयारी शुरु गरिएको हो । पश्चिम नेपालको धनगढीस्थित गोदावरीबाट बेलीब्रीजको आवश्यक सामग्रीहरु ल्याएर जयरामघाटमा बेलीब्रीज सञ्चालनको तयारी शुरु गरिएको सडक बिभागले जनाएको छ । 
जिल्लाको प्रमुखद्धारकारुपमा रहेको जयराममा बेलीब्रीज निर्माणकालागि बेलीब्रीजको प्लेटफर्म निर्माण भइसकेको र बिहिबारदेखि बेलीब्रीजको जगमा राखिने जालीमा ढुंगा भर्ने काम थालिएको सडक बिभागका इन्जिीनियर बिष्णु काफ्लेले बताउनु भयो । इन्जिीनियर काफ्लेका अनुशार करिब २० दिनभित्रमा जयराममा बेलीब्रीज सञ्चालन हुनेछ । 
शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेत, कृषिबिज्ञ मदन राई लगायत खोटाङका अगुवाहरुको पटक–पटकको आग्रहमा नेपाल सरकारको सडक बिभागले दुधकोशीमा बेलीब्रीज हाल्न तत्परता देखाएको हो । सडक बिभागको धनगढीस्थित पूरानो क्षेत्रीय कार्यालयमा राखिएको बेलीब्रीजका सामानहरु चार वटा ट्रकमार्फत जयराममा ल्याइएको शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेतले बताउनु भयो । 
फेरी बगेपछि जिल्ला र तराईसँगको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ, भने तराईबाट भित्रिने उपभोग्य सामानहरु सुनकोशीको हर्कपुर र दुधकोशीको जयराममा झार्नु र चढाउनु पर्ने बाध्यता छ । छिमेकी जिल्लाको सुनकोशीको हर्कपुरमा बेलीब्रीज सञ्चालनमा आइसकेको अवस्थामा जयराममा पनि बेलीब्रीज सञ्चालनमा आएपछि जिल्लाको यातायात सेवा र मूल्या बृद्धिमा सुधार आउने उद्योग बाणिज्य संघको भनाई छ । 
डोरी चुँडिएपछि गत असार–४ गते नदीले बगाएको जयरामको फेरी उदयपुर र खोटाङकोबीचमा पर्ने धाब्लाङस्थित सुनकोशी नदीमा पुगेको छ । फेरीको अभावमा जिल्लाको यातायात सेवा प्रभावकारी नभएको र दैनिक उपभोग्य बस्तुको मूल्य पनि आकाशिएको भन्दै जिल्लाका अगुवाहरु जयराममा बेलीब्रीज सञ्चालनका लागि अघिसरेका हुन् । 
उनीहरुले खोटाङ र उदयपुरको फोक्सिङटारमा पनि फेरी वा बेलीब्रीज सञ्चालनको पहल गरिरहेको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजूले बताउनु भयो ।