किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले धुमधामकासाथ साकेला पर्व मनाउने तयारी थालेको छ । शनिबार किरात राई यायोक्खाको कार्यालयमा सबेको बैठकले किरातीको महान चाड साकेला उभौली धुमधामका साथमा मनाउने तयारी गरेको हो । साकेला उभौली एलेसम्वत ५०७८ को अवशरमा आगामी बैसाख १७ गते यायोक्खाको कार्यालयबाट पितृभूमीको पूजाआजा गरेपछि विधिवतरुपमा सुरु गरिने साकेला मझुवागढीमा पुगेर मनाइने यायोक्खाकी अध्यक्ष अञ्जना राईले बताउनु भयो । 
यस्तै, बैसाख २२ गते दिक्तेल बजारको हाटडाँडामा, बैसाख २६ गते हेलीप्याडमा, बैसाख २९ गते रत्नपार्कमा र जेठ ५ गते खोटाङ बिकास मञ्चको कार्यालय अगाडि साकेला मनाइने यायोक्खाले जनाएको छ । महिना दिनसम्म मनाइने साकेला उभौली आगामी जेठ १२ गते माटिकोरे खेलमैदानमा प्रदर्शनी गर्दै समापन गरिने यायोक्खाकी अध्यक्ष राईले बताउनु भयो । 
किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ । साकेलाको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला नाच्ने प्रचलन छ ।