माघ–२८, शान्तिपूर्ण आन्दोलनलाई दबाउन प्रहरी प्रयोग गरिएको भन्दै बिपक्षी दलहरुले आज खोटाङ बन्द गरेका छन्। कांग्रेस, एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले बन्द आह्वान गरेपछि बजार पसल, शैक्षिक संस्थालगायत ठप्प बनेको छ।
माघ २६ गते प्रशासनमा धर्ना दिन गएका बिपक्षी दलहरुलाई प्रहरीले धरकपकड गरेको भन्दै आन्दोलनको कार्यक्रम अन्तर्गत बन्द आह्वान गरिएको राप्रपा पार्टीका जिल्ला अध्यक्ष ललित राईले बताउनु भयो।
राष्ट्रिय सहमतिय सरकार निर्माणका लागि दबाब दिन गरिएको शान्तिपूर्ण आन्दोलनलाई प्रशासनले दबाउने प्रयास गरेपछि सशक्त आन्दोलन थाल्ने भन्दै नाराजुलुस सहित बजार परिक्रमा गरी बन्द गरिएका छन्। 
दिक्तेलमा जुलुस प्रर्दशनपछि कोणसभा आयोजना गरिएको थियो। सभामा कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राई, एमालेका अध्यक्ष विशाल भट्टराई, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका अध्यक्ष ललितकुमार राई लगायतले सरकारको बिरोध गरेका थिए। 
तीन दलको आन्दोलनलाई मध्यनजर गर्दै सदरमुकाममा प्रहरीको गस्ती पनि बाक्लो बनाइएको छ।
सरकारको बिरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्ष प्रबेशमा रोक लगाउन शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेका आन्दोलनकारी र प्रहरीबीको झडपमा तीन दलका एक दर्जन बढी नेता तथा कार्यकर्ताहरु घाइते भएपछि बिपक्षीहरुले आन्दोलन चर्काउने तयारीमा लागेका छन्। 
थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी थालिएको एमाले जिल्ला सचिव राजन राईले बताए।