फागुन–४, खोटाङ बस व्यवसायी संघले आफ्नै प्रतिबद्धता बिपरीत दिक्तेल–जयराम सडकखण्डमा सञ्चालित यात्रुबाहक बस नियमबिपरित बसको सिट क्षमताभन्दा बढि यात्रु ओसार पसार गरिरहेको छ । 

तीन महिनाअघि मात्र बसमा क्षमताभन्दा बढि यात्रु ओसार पसार नगर्ने निमय लागू गरेको संघले हाल आफ्नै नियम मिचेर यात्रु ओसार पसार गरिरहेको छ । हिजोआज दैनिक जयराम–दिक्तेल आवतजावत गर्ने बसको सिटभन्दा बाहेकका ठाउँमा उभाएर र हुटमा राखेर यात्रुलाई ओसार पसार गर्ने काम भइरहेको यात्रुहरुले गुनासो गरेका छन् । तर क्षमताभन्दा बढि यात्रु नराखिएको खोटाङ बस व्यवसायी संघका सदस्य नयनकुमार राईले दाबी गर्नु भयो । बसमा उभ्याइएका यात्रुहरु लोकल यात्रु भएको राईले बताउनु भयो । 
सम्भाबित सडक दुर्घट्नालाई कम गर्न र यात्रुहरुको सुबिधालाई मध्यनजर गर्दै खोटाङ बस व्यवसायी संघको पहलमा गत मंसिर–२२ गतेदेखि जिल्लामा सञ्चालित सडकमा सिट संख्याभन्दा बढि यात्रु राख्न र हुटमा यात्रु राख्न रोक लगाइएको थियो । 

संघले बनाएको नियम केही समयपछि नै तोडिएको यात्रुहरुको भनाइ छ । यस्तै, जयरामबाट सिट भरिए लगत्तै बस छुटाउने निर्णय गरिए पनि त्यसको कार्यन्वयन नभएको यात्रुहरुको भनाई छ ।