फागुन–४, दलहरूको विवादले जिल्ला विकास समिति खोटाङको योजना तर्जुमा गोष्ठी अबरुद्ध भएको छ । 
विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान सरकारले सामाजिक सुरक्षा तथा गाविस जिविसको अनुदान कटौती, मन्त्रीको तोक आदेशमा प्रक्रिया मिचेर ल्याइएको विकासे कार्यक्रम लगायतका बारेमा विरोध गरेपछि बढेको विवादले बुधबारदेखि सुरु हुने भनिएको जिल्ला विकास समितिको योजना तर्जुमा गोष्ठी अबरुद्ध भएको हो ।
कांग्रेस एमालेले २०६८ माघदेखि २०६९ असारसम्मको सामाजिक सुरक्षा अन्तरगतको रकम अनिवार्य आउनु पर्ने, स्थानीय स्वायत्त शासन ऐन विपरित मन्त्रीको ठाडो तोकआदेशमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले जिल्लामा ल्याएका विकासे कार्यक्रम फिर्ता गर्नु पर्ने र कटौती भएको गाविस जिविसको रकम पूरै आउनु पर्ने भन्दै अडान कसेपछि योजना तर्जुमा गोष्ठी अबरुद्ध भएको नेकपा एमाले खोटाङका जिल्ला अध्यक्ष विशाल भट्टराईले बताउनुभयो । 
आगामी फागुन १३ गते जिल्ला परिसद गर्ने योजनाका साथ जिविसले योजना तर्जुमा गोष्ठीको आयोजना गरेको थियो । कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले केही समयका लागि योजना तर्जुमा गोष्ठी अबरुद्ध भए पनि जिल्ला परिसद भने सफल रूपमा सम्पन्न गर्ने बताउनुभएको । 
जिल्लास्थित एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल र संघीय समाजवादी पार्टीले भने अबरुद्धप्रति असन्तुष्ट व्यक्त गरेका छन् । विपक्षी दलले अनावश्यक बखेडा झिकेर जिल्लाबासीको भविष्यमा खेलभाड गर्न खोजेको उनीहरुको भनाइ छ ।