खोटाङ बैशाख–१८, भारी बोकेको ज्याला बापत दैनिक ३५ सयदेखि पाँच हजार रुपैंयाँसम्म कमाउने खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–६ का ७२ बर्षिय नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । जिल्ला सदरमुकाम दिक्तेलबजार तथा आसपासमा सामानका भारी ओसारपसार गरेका ज्यालाबापत अपत्यारिलो कमाई गर्ने गुरुङलाई १ सय २९ औं मजदुर दिवसको अवसरमा मंगलबार सम्मान गरिएको हो ।
बृद्घ गुरुङलाई नेपाल ट्रेड युनियन महासंघ(जीफण्ट) पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती), एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपाल जिल्ला कमिटिले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य उषाकला राई, बिशेष अतिथि पूर्ब माननीय दुर्गाजयन्ती राई र जिल्ला समन्वय समितिको प्रमुख बबी चाम्लिङले नगद एक हजार सहित नेपाली टोपी ओढाएर सम्मान गरेका हुन् ।
लामो समयदेखि जिल्लाबासीको सामान तथा भारी ओसारपसार गरि सेवा दिने गुरुङको श्रमलाई बिशेष अवसर पारी सम्मान गरिएको जिफण्ट जिल्ला सचिब प्रकाश पोखरेलले बताउनुभयो ।
एक पटकमा डेढ सय केजीसम्म भारी बोकेर जिल्लामा ‘बलवान’को पहिचान बनाउनुभएको बृद्द गुरुङले मासिक डेढ लाख रुपैंयाँ समेत कमाई गरी बचत गर्ने गर्नुभएको छ । हरेक समय सामान ओसारपसारमै देखिने गुरुङ आफ्नो बच्चाहरुको साथमा दिक्तेलबजारमै बसोबास गर्दै आउनुभएको छ ।
यस्तै, दिक्तेलबजारमै भारी बोकेर घरपरिवार चलाउँदै आउनुभएको राजन श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
मे दिवसको अवसरमा मजदुर लगायतको ¥यालीले सदरमुकाम परिक्रमा गरी स्थानीय समीक्षालय हलमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।