फागुन–५, समुदायले आफ्नो शर्तअनुशारको लगानी गर्न नसकेका कारण खोटाङका ८ वटा लघुजलविद्यूत आयोजनालाई आर्थिक अभाव भएको छ । 
दातृ संस्था वैकल्पीक उर्जा प्रवर्धन केन्द्र इसापले लघुजलविद्यूत योजनाकालागि शर्तअनुशारको ६० प्रतिशत लगानी गरेपनि समुदायले शर्तअनुशार ४० प्रतिशत लगानी गर्न नसकेका कारण जिल्लाका ८ वटा लघुजलविद्यूत आयोजनालाई आर्थिक अभाव भएको हो । आर्थिक अभाव भएपछि निर्माणाधिन आठ वटै आयोजना अलपत्र परेको छ । 
दातृ निकायसँग गरिएको सम्झौता अनुशार निम्न आर्थिक स्तर भएका समुदायले आफ्नोतर्फबाट गर्नुपर्ने ४० प्रतिशत लगानी गर्न नसकेका कारण सबै जलबिद्युत आयोजनाकालागि कुल ६ करोड अभाव भएको जलविद्युत महासंघ खोटाङका सचिव कुमार खड्काले बताउनुभयो । 
खड्काका अनुशार फेदीको ४० किलोवाट क्षमताको स्वाँरा तापखोला, फेदीकै ३९ किलोवाटको पञ्चमी छमुवा, सुङ्देलको ५० किलोवाटको चेर्खे खोला, जालपाको १९ किलोवाटको लुम्जु खोला, खार्ताम्छा बासपानीको ६९ किलोवाटको ताप खोला तेश्रो, पाथेकाको ६० किलोवाटको नाखाम खोला, बाक्सिलाको एक सय किलोवाटको रावा खोला र निर्मलीडाँडाको १० किलोवाटको साप्सु खोला घलुजलविद्यूत आयोजनालाई आर्थिक अभाव भएको छ । 
आफ्नो गाउँठाउँका खोलामा बगीरहेको पानीबाट विजुली निकाल्ने सपनामा उपभोक्ताहरुले प्रतिघर २५ हजारसम्म लगानी गरेका छन् । तर यति धेरै रकम तिर्न सक्ने क्षमता सबै उपभोक्तामा नभएका कारण जलबिद्युत आयोजनाहरुकालागि आर्थिक समस्या परेको सचिव खड्काको भनाई छ । खड्काका अनुशार तोकिएको समयमा योजना पूरा गर्न नसक्दा उल्टै जरिवाना तिर्न पर्ने अवस्था आएको छ । 
बैकल्पीक उर्जा प्रवर्धन केन्द्र इसापले समुदायको ४० प्रतिशत लगानी हुने शर्तमा प्रतिकिलोवाट १ लाख २५ हजार अनुदान उपलव्ध गराउँछ, तर बिकट गाउँमा १ किलोवाट विद्यूत उत्पादन गर्न कम्तीमा पाँच लाख लाग्ने उपभोक्ताको भनाई छ । सडक नपुगेका बिकट ठाउँमा यो शर्तमा थालिएका आयोजनाहरुलाई प्रस्ताबित बजेटले धान्न सक्ने अवस्था नभएको सचिव खड्काले बताउनुभयो ।
जिल्लाका निर्माणाधिन अवस्थाका लघुजलविद्यूत आयोजनाकालागि आर्थिक अभाव भएको भन्दै महासंघले गत असोज–२९ गते जिल्ला विकास समिति समक्ष सहयोगको आग्रह गरेको थियो । 
इसापको सहयोगमा पेल्ट्रीकसेट र लघुजलविद्यूत गरी जिल्लाका २५ गाविसमा २४ वटा आयोजना सञ्चालनमा छन् । जसमध्ये १५ वटा आयोजना सम्पन्न भइसकेका छन्, भने बाँकी आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । 
सबै आयोजनाको क्षमतालाई जोड्दा एक मेगावाट बराबरको क्षमता बन्ने सबै आयोजनाहरु पूरा भएपछि जिल्लाका १२ हजार घरधुरीमा बत्ती बल्ने महासंघको दावी छ । यस्तै, ग्रामिण उर्जा विकास कार्यक्रम मार्फत सञ्चालित लघुजलविद्यूत आयोजनाले जिल्लाका एक हजार घरधुरीमा विद्यूत बिस्तार भइसकेको ।