
फागुन–११, संघीय समाजबादी पार्टी निकट अग्रगामी बिद्यार्थी युनिययनले खोटाङकै पूरानो दिक्तेल बहुमुखि क्याम्पसको शैक्षिक तथा भौतिक बिकासकालागि पहल गर्न माग गरेको छ ।
उसले छात्राबासमा विद्युत, पिउनेपानी र शौचालयको व्यवस्था गर्न, दक्ष कम्यूटर शिक्षकको व्यवस्था गर्दै ईन्टरनेटको व्यवस्था गर्न, पुस्तकालयमा विज्ञान तथा प्राबिधिक बिषयको पुस्तकको व्यवस्था गर्न र विद्युतीय उपकरणहरु प्रयोगमा ल्याउन माग गरेको छ ।
अग्रगामी बिद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनसमक्ष शुक्रबार १८ बुँदे ज्ञापनपत्र बुझाउँदै क्याम्पसको चौतर्फी बिकासको लागि पहल गर्न माग गरेको हो । यूनियनले क्याम्पस प्रशासनसमक्ष तत्काल गर्नुपर्ने ९ बुँदे, बार्षिकरुपमा गर्नुपर्ने ६ बुँदे र दिर्घकालिनरुपमा गर्नुपर्ने तीन बुँदे मागहरु पेश गरेको छ ।

इकाई समितिले क्याम्पसमा खेलकुदका सामग्री तथा खेलमैदानको व्यवस्था गर्न, पाक्षिकरुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न, क्याम्पस व्यवस्थापन समिति तथा क्याम्पस स्टाफको नियमित बैठक बसी छलफल गर्न लगायतका तत्काल गर्न सकिने कामहरु गर्न माग गरेको छ ।
यस्तै, वार्षिकरुपमा क्याम्पस प्रथम तथा शंकायगत प्रथम स्थान प्राप्त गर्ने बिद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्न, आगामी शैक्षिक सत्रदेखि क्याम्पसमा पोशाक अनिवार्य गर्न, परिक्षालाई मर्यादितरुपमा सञ्चालन गर्न, परिक्षाफल प्रकाशित भएको एक दिनपछि नै परिक्षाफल थाहा दिन र हप्ता दिनभित्र ट्रान्सक्रीप्ट उपलव्ध गराउन, सबै बिद्यार्थी संगठनहरुसँग सामुहिक छलफल तथा अन्तरक्रीय गर्न लगायतका बार्षिक कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ ।
इकाई समितिका अध्यक्ष बिन्दास प्रबिन राईको नेतृत्वमा गएको टोलीले दिक्तेल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनकालागि पहल गर्न, क्याम्पसको आरसिसि भवन निर्माण गर्न र अतिरिक्त क्रियाकलाप स्थलहरुको निर्माण गर्नुपर्ने माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख शेरबहादुर तामाङले यूनियनको मागलाई सम्बोधन गर्ने आश्वसन दिनु भएको छ ।