खोटाङ बैशाख–१९, खोटाङका  उदयिमान गजलकार प्रविण चाम्लिङ राईको गजल संग्रह ‘मनका लहर’ साहित्य बजारमा आएको छ । जिल्लाको दिप्रुङ गाउँपालिका–६ छितापोखरी बास्थलाको चाम्लिङले लेख्नुभएको ५८ गजल संग्रहित कृति हालै बजारमा आएको हो । 
सदरमुकाम दिक्तेलबजारस्थित सरस्वती माबिमा कक्षा–१२ मा अध्ययनरत चाम्लिङ राईको पहिलो कृतिलाई साईनो कला केन्द्रले प्रकाशन गरेको हो । पहिलो संस्करणमा एक हजार प्रति प्रकाशन गरिएको गजल संग्रह सदरमुकामा आयोजित एक बिशेष कार्यक्रममा हालै  सार्बजानिक गरिएको हो । 
सबै जसो मुशलसल गजल रहेको कृतिको मुल्य एक सय पचास तोकिएको छ । गजल संग्रह सदरमुकामको श्रेष्ठ बुक्स एण्ड स्टेसनरीमा उपलब्ध भएको श्रष्टा प्रविनले जनाउनुभयो । 
संग्रहको अग्र पृष्ठमा साहित्यकार नरेन्द्र निर्बिकार लगायतले लेख्नुभएको भूमिका तथा समीक्षामा प्रविनलाई राम्रो सम्भावना भएको श्रष्टा मानिएको छ । साहित्यकारहरुको भूमिका तथा समीक्षामा प्रविनलाई ‘हुने बिरुवाको चिल्लो पात’ को संज्ञा दिईएको छ ।