फागुन–१५, खोटाङका द्धन्द्ध पिडित परिवारले आफ्नो बालबच्चाकालागि उचित शिक्षादिक्षा र रोजगारको माग गरेका छन् । 
द्धन्द्धकाक्रममा अबिभावक गुमाएका बालबच्चाको पठन पाठन र जीवनयापनकालागि समस्या भएको भन्दै उनीहरुले बालबच्चाको शिक्षा र रोजगारकालागि सरकार समक्ष माग गरेका हुन् । 
शान्ति कोष सचिवालयसँगको सहकार्यमा रेडियो नेपालले सदरमुकाम दिक्तेलमा सोमबार आयोजना गरेको रेडियो कार्यक्रम शान्ति बहसमा सहभागी जिल्लाका द्धन्द्ध पिडितहरुले आफ्नो बालबच्चाकालागि शिक्षा र रोजगारको ग्यारेन्टी गर्न माग गरेका हुन् । 
द्धन्द्ध पिडितका नाताले पाउने राहत र क्षतीपूर्ती पनि सहज तरिकाले नपाएको उनीहरुको गुनासो छ । 
द्धन्द्धकाक्रममा जिल्लामै पहिलो पटक ज्यान गुमाएका दोर्पाका ठूलकुमार श्रेष्ठकी छोरी क्रान्ती श्रेष्ठले उच्च शिक्षा हाँसिल गर्न र रोजगारीकालागि लोक सेवामा शहिद परिवारकालागि छुट्टै कोटा निर्धारण गर्न माग गर्नु भयो । एकैदिन बाबु दिलकाजी कार्की र आमा इन्दिरा कार्की गुमाएका निर्मलीडाँडाका प्रतिप कार्कीले पनि उच्च शिक्षाकालागि सहयोगको याचना गर्नु भएको छ । 
यस्तै, द्धन्द्धकाक्रममा श्रीमान गुमाएका रतन्छाका रामकुमारी राईले द्धन्द्ध पिडितलाई मृतक सेना तथा प्रहरीको परिवारलाई सरह सेवा तथा सुबिधाको व्यवस्था गर्न माग गर्नु भयो । 
द्धन्द्धकैक्रममा ज्यान गुमाएका लफ्याङका मुक्सन किरातका बुबा बीरबहादुर राईले द्धन्द्ध पिडितकालागि क्षमताका आधारमा रोजगार वा व्यवसाय गर्ने वाताबरण सिर्जना गर्न सरकार समक्ष माग गर्नु भयो ।