फागुन–१८, मलेसियामा सडक दुर्घटनापरी ज्यान गुमाएका खोटाङको राजापानी–७ का कमलकुमार राईको मृतक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । 
मलेसियाको जोहोरबारुस्थित पासिर गुडाङमा रहेको ह्वाईट हर्स कम्पनीमा काम गर्नेक्रममा ज्यान गुमाएका राईको परिवारले आर्थिक सहयोग प्राप्त गरेका हुन् । 
ह्वाइट हर्स कम्पनीमा कार्यरत कामदारहरुले चन्दा संकलन गरेर पठाएको तीन लाखभन्दा बढी सहयोग रकम मृतक परिवारले पाएका हुन् । नेपाली तथा अन्य देशका कामदारबाट संकलन गरिएको ११ हजार ३ सय ५९ रिंगेट एजेन्टमार्फत मृतकका पिता जयबहादुर राईको नाममा पठाइएको खोटाङ सेवा समाज मलेसियाले  जनाएको छ । 
रोजगारीका सिलसिलामा दुई वर्षअघि मलेसिया पुग्नु भएका राईको निधन भएपछि बिचल्लीमा परेका परिवारको सहयोगका लागि सहयोग रकम पठाइएको हो ।
तरकारी किनेर फर्कनेक्रममा कामदार ओसार÷पसार गर्ने बसको ठक्करबाट राईको गत माघ–११ गते राती घटना स्थलमै ज्यान गएको थियो । मृतकले पाउने बिमा र राहतका लागि मलेसिया सरकारसँग पहल भइरहेको र रकम प्राप्त हुने बित्तीकै मृतकको परिवारलाई पठाइदिने कम्पनीले जनाएको छ ।