फागुन–२३, खोटाङमा पहिलोपल्ट जमिन जोत्ने हाते ट्याक्टर भित्रिएको छ । कृषिमा बढ्दो आधुनिकीकरणसँगै जिल्लामा जमिन जोत्ने हाते ट्याक्र भित्र्याईको बजीमय एग्रोभेट दिक्तेलका प्रोपाइटर राजु बजीमयले बताउनु भयो । 

जमिन जोत्ने हाते ट्याक्टर भित्रीएपछि हालसम्म आफ्नो खेतबारीमा गोरु जोत्दै आएका किसानहरु आधुनिक प्रबिधिमा निर्भर बन्ने बजीमयको भनाई छ । बजीमय एग्रोभेटले बिक्रीकालागि भित्र्याएको हाते ट्याक्टरलाई मंगलबार सदरमुकाम दिक्तेल–२ मा बाँझोबारी जोतेर प्रदर्शन गरिएको छ । 

एक लिटर डिजेलले एक घण्टा चल्ने हाते ट्याक्टरले प्रतिघण्टा एक रोपनी बारी जोत्न सकिने बितरक फोर्स कन्स्ट्रक्सन एण्ड एसोसिएट्स काठमाडौंका प्राबिधिक नवराज चौलागाईले बताउनु भयो । एक हल गोरुले जोत्ने जग्गा तीन घण्टामै सकिने र माटोको डल्ला फोर्न नपर्ने भएका कारण किसानकालागि हाते ट्याक्टर फाइदाजनक रहेको प्राबिधिक चौलागाईको भनाई छ । 
आफु आवद्ध कृषक समुहले पनि गोरुको सट्टामा हाते ट्याक्टर प्रयोग गर्ने सोच बनाएको बाम्राङ–६ का कृषक ईश्वरकुमार श्रेष्ठले बताउनु भयो । गुडाएर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने ट्याक्टर सुक्खा, हिलो र घाँसे जमिनमा पनि जोत्न सकिने प्रदर्शनीमा देखाइएको छ ।
खन जोत गर्ने समय र श्रमको बचत हुने भएका कारण जिल्लाका किसानहरु हाते ट्याक्टरप्रति आकर्षित बनेका छन् ।