फागुन–२३, नेकपा–माओबादी खोटाङले युवा संघका कार्यकर्तालाई गोली हान्ने व्यक्ती आफ्नो कार्यकर्ता नभएको दाबी गरेको छ । 
घट्नाको दोश्रो दिन नेकपा–माओबादीले सदरमुकाम दिक्तेलस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी युवा संघका नेर्पा गाउँ कमिटिका अध्यक्ष पविन राईलाई गोली हान्नमा संलग्न नेर्पा–३ का लोकेन्द्र राई र ध्रुब राई आफ्नो कार्यकर्ता नभएको दाबी गरेको हो । 
युवा संघका गाउँ कमिटि अध्यक्षमाथि भरुवा बन्दुक प्रहार गर्नमा संलग्न युवाहरु नेकपा–माओबादीको कार्यकर्ता भएको भन्दै गरिएको प्रचारको खण्डन गर्दै पार्टीले राजनैतिक, बैचारिक र सांगठनिक हिसावले उनीहरु आफ्नो पार्टीसँग संलग्न नरहेको स्पष्ट पारेको छ । 
गोली काण्डमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको र यसबारेमा पार्टी अनविज्ञ रहेको नेकपा–माओबादी खोटाङका इन्चार्ज ध्रुब बुढाथोकी धिरेनले बताउनु भयो । नेकपा–माओबादीले घट्नालाई लिएर नेर्पा निवासी जिल्ला कमिटि सदस्य चित्रकुमार राईको घरमा प्रहरीले पटक–पटक छापा मारेकोमा भत्र्सना गरेको छ । 
गोली हानिएको बिषयमा युवा संघले आफ्नो पार्टीमाथि लगाएको लाञ्छना सच्याउन र सत्यतथ्य पहिल्याउन इन्चार्ज धिरेनले माग गर्नु भयो । ‘सत्यतथ्य बुझेर विषयलाई समाधान गर्नुकोसट्टा नाराबाजी र बक्तव्यबाजी गर्नु राजनैतिक अधैर्यता र अराजकता मात्र हैन गलत संस्कार पनि हो ।’–ईन्चार्ज धिरेन र सेक्रेटरी सुनिलले जारी गर्नु भएको प्रेस बिज्ञाप्तीमा भनिएको छ,–‘यस्तो संस्कारले संगठनको राजनैतिक बेईमानी मात्र पुष्टी गरेको छ ।’ 
नेकपा एमाले ७ नम्बर ईलाकाको छैठौं तथा गाउँ कमिटि नेर्पाको दशौं अधिबेसनको प्रचार प्रसार गरेर घर फर्कदै गरेको अवस्थामा सोमबार राती पविनमाथि भरुवा बन्दुकले हानिएको थियो । ढाडको दायाँ भाग र देब्रे गालामा गोली लागेका पविनको थप उपचारकालागि बिहिबार राजधानी काठमाडौं लैजाने तयारी भइरहेको युवा संघ नेपाल खोटाङका सचिव प्रमोद श्रेष्ठले बताउनु भयो ।