फागुन–२६, आमाहरुको सक्रियतासँगै खोटाङ खार्मी–९ तुर्खाको मुहारै फेरिएको छ । कुनै समय जुवातास खेल्ने, जाँडरक्सी खाएर होहल्ला गर्ने, श्रीमान्ले श्रीमतिलाई कुटपिट गर्ने, झैझगडा गर्ने अनि मुद्दामामला हुने यो गाँउको अवस्था सर्लक्क फेरिएको हो । आमाहरुको सक्रियताले त्यस गाउँको आर्थिक, सामाजिक, लैंगिक रुपमा समेत परिवर्तन भएको छ । 
२०६१ सालमा गठन भएको साकेला आमा समुहले शुरुमा गाँउमा जुवातास खेल्न, जाँडरक्सी बेचबिखन गर्न र सेवन गरी झैझगडा गर्न रोक लगाएको थियो । निरन्तर गाँउ सुधार र विकासको कार्य गर्दै आएको समुहले आफ्ना नीति र नियमबिपरित कार्य गर्नेलाई कडा  आर्थिक एवं सामाजिक कार्वाही गर्ने गरेको छ । गल्ति गर्नेले सुध्रिने प्रण गरेमा कम्तिमा ५ हजार समुहमा बुझउन लगाएर अवसर दिने तर, फेरि गल्ति दोहो¥याएमा सामाजिक बहिस्कार गर्दै आएको छ ।
आमा समुहले गाँउमा हुने सामान्य झैझगडा समेत गाँउमै मिलाउने गरेका छन् । कसैले कसैमाथि अन्याय ग¥यो अथवा क्षति पु¥याएमा छलफल र कार्वाहीको लागि पीडितले समुहमा निबेदन दिनुपर्ने नियम बनाएको छ । पीडितको निबेदनको आधारमा समुहमा छलफल गरी क्षतिपूर्ति र कार्वाहीको निर्णय गरिने समुहका अध्यक्ष कमलकुमारी राईले जानकारी दिनुभयो । 
गाँउमा छलफल नगरी र नगराई आफ्नै ढंगले मुद्धामामलामा लाग्नेलाई समेत कार्वाही गर्दै आइएको राईको भनाइ छ । गाँउको नराम्रो सन्देश बाहिर जाने हुनाले पनि यस्तो नियम बनाइएको समुहका सदस्यहरु बताँउछन् । आमाहरुको यो अभियानले गाँउमा अराजक गतिविधि, मुद्दामामला जस्ता क्रियाकलाव रोकिएको स्थानिय शिक्षक देवकुमार राईले बताउनुभयो ।
प्रत्येक सदस्यबाट मासिक १०/१० रुपैयाँ संकलन गरी समुहमा जम्मा गर्दै आएका  आमाहरु आर्थिक रुपमा समेत सवल बनेका छन् । आफुहरुले नै जम्मा गरेको रकमबाट मासिक रुपमा समुहमै फिर्ता गर्ने गरी ऋण लिन पाउने व्यवस्था भएपछि सानोतिनो घरायसी गर्जो टार्न समेत सहज भएको छ ।
देउसीभैलो खेलेर समेत रकम संकलन गर्ने  आमाहरुले गाँउमा सामुहिक भाँडाबर्तन खरिद गर्न र ३ कोठे विद्यालय भवन निर्माणमा पनि उल्लेख्य योगदान दिएको छ । गाविस अनुदानको ७२ हजार तथा स्थानीयबासीको १ लाख २७ हजार बराबरको श्रमदान, आमा समुहको २६ हजार गरी करिब चार लाख बराबरको ३ कोठे भवन निर्माणपछि, बालविकास केन्द्र सञ्चालन गर्न, विभिन्न कार्यक्रमहरुको आयोजना गर्न, बैठक बस्न आदिमा उपयोगी बनेको छ । 
भवन बन्नु अघि कसैको आँगन, सिकुवा, ठाँटी, चौतारीजस्ता स्थानहरु तोक्नुपर्ने स्थिति रहेको स्थानीयबासीहरु बताँउछन् । यता, समुहकै भाँडाबर्तन खरिदपछि कुनै कार्य उतार्न घरघरै भाँडा खोज्दै गाँउ चाहार्नु पर्ने अवस्थाबाट मुक्ति पाइएको बाल विकास केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष पञ्चमनी राईले बताउनुभयो ।
भावी सन्ततिलाई सुन्दर, शान्त र विकसित गाँउ सुम्पने एउटै सपना बोकेका आमाहरुले गाँउमा बिजुली बाल्नको लागि समेत करिब डेढ लाख रकम छुट्याएका छन् । महिला सशक्तिकरण, महिला अधिकार जस्ता गतिला कार्यक्रमहरुको पिछा नगरी स्वविवेकले ९ नम्बरे आमाहरुले थालेको अभियान र अन्य सम्पूर्ण गाँउलेका साथ सहयोगमा गरेको परिवर्तन चानचुने ठान्न नहुने वुद्घिजीविहरु बताउँछन् ।