फागुन–२७, पूर्वको पशुपतिनाथ मानिने खोटाङको हलेसी महादेवस्थानमा महाशिबरात्रीको अवसरमा विहानैदेखि पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागेको छ ।
हलेसीमा दर्शन गर्न तथा हलेसीमा लाग्ने मेला भर्न नेपालबाहेक, छिमेकी देश भारत, चीन, भुटान लगायतका ठाउँबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आएका छन् ।
किरात, बौद्ध र हिन्दुधर्मावलम्बीहरुको त्रिबेणी स्थल मानिने हलेसीसम्म पुग्ने उदयपुरको कटारी–घुर्मी र घुर्मी–दिक्तेल सडक खण्डमा पर्ने सुनकोशी र दुधकोशीमा बेलीब्रीज बनेपछि यसपल्ट हलेसीमा आउने दर्शनार्थीको संख्या दोव्वर बढेको बजार हलेसी महादेबस्थान बिकास समितका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोशी र उदयपुर र ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदीमा अस्थायी बेलीब्रीज निर्माण भएपछि काठमाडौ, बिराटनटर, धरान, जनकपुरलगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् ।
धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरबगुफा, दुंदेलो गुफा लगायतका स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु आउने गरेका छन् ।
यस्तै, हलेसीमा हप्तादिनसम्म लाग्ने मेला भर्न र आफुलाई आवश्यक सामग्रीहरु खरिद गर्नेहरुको भीड पनि उत्तिकै भीड लाग्ने बजार व्यवस्थापन समितिले जनाएको छ ।