चैत्र–५, खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोशीस्थित जयरामघाटमा बेलिव्रिज बनेपछि खोटाङमा दैनिक उपभोग्यबस्तुको मूल्यामा कमी आएको छ ।

जयरामघाटमा बेलिब्रिज सञ्चालनमा आएपछि तराईहुँदै सदरमुकाम दिक्तेल भित्रिने चामल, नुन, तेल, ग्याँस लगायतका दैनिक उपभोग्यबस्तुको मूल्य घटेको हो ।

बेलिव्रिज बनेसँगै तराईबाट सिधा यातायात सेवा शुरु भएपछि जिल्लामा उपभोग्य वस्तुको मूल्य घटेको खोटाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेन्द्र लयालुले बताउनु भयो ।

उहाँका अनुसार चामलको मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ, चिनीको प्रतिकिलो ५ रुपैयाँ, ग्याँसको प्रतिसिलिन्डर ३ देखि ५ सय मूल्य घटेको छ । छिमेकी जिल्ला ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मीस्थित सुनकोशी र दुधकोशीमा बेलिव्रिज बनेपछि दुईदेखि तीन दिनमा आइपुग्ने उपभोग्यबस्तुहरु एकै दिनमा जिल्लामा आइपुग्न थालेको छ ।

बेलीब्रीजको अभावमा लोडअनलोडका कारण टुटफुट हुने सामानहरु अहिले सुरक्षितसाथ जिल्लामा आउन थालेको संघका उपाध्यक्ष लयालुले बताउनुभयो ।

‘अहिले तोकिएको परिमाण र गुणस्तरका उपभोग्यबस्तु सुरक्षितसाथ तराईका गोदामबाट सिधै जिल्लाको गोदाममा आइपुगीरहेको छ ।’ उपाध्यक्ष लयालुले भन्नुभयो ।

यसअघि बेलीब्रीजको अभावमा तराईमा ल्याइएका सामानहरु घुर्मी, हर्कपुर र जयराममा लोडअनलोड गर्नु पर्ने बाँध्यताका कारण जिल्लामा उपभोग्यबस्तुको मूल्य बढेको थियो । पुलको अभावमा जिल्लाबासीले खेप्नु परेको समस्या समाधानकालागि शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेत, कृषिबिज्ञ मदन राई लगायत खोटाङका अगुवाहरुको पटक–पटकको आग्रहमा नेपाल सरकारको सडक बिभागले दुधकोशीमा बेलीब्रीज सञ्चालन गर्न अघि सरेका हुन् ।

प्रत्येक वर्षको हिउँदभर सञ्चालन गरिने र वर्षाको समयमा खोलेर राख्नेगरी जयराममा अस्थायी बेलीब्रिज निर्माण गरिएको सडक बिभागका इन्जिनियर बिष्णु काफ्लेले बताउनुभयो ।

जयरामघाटमा सञ्चालित फेरीलाई दुधकोशीले बगाएको आठ महिनापछि त्यसको बिकल्पकारुपमा गत फागुन–१९ गतेदेखि बेलीब्रीज सञ्चालनमा ल्याइएको हो । पश्चिम नेपालको धनगढीस्थित गोदावरीबाट बेलीब्रीजको आवश्यक सामग्रीहरु ल्याएर जयरामघाटमा बेलीब्रीज सञ्चालनमा ल्याइएको सडक बिभागले जनाएको छ ।

जिल्लाका अगुवाहरुको टोलीले खोटाङ र उदयपुरको फोक्सिङटारमा पनि फेरी वा बेलीब्रीज सञ्चालनको पहल गरिरहेको शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेतले बताउनुभयो ।