चैत्र–५, छात्राहरुलाई बलात्कारको प्रयास गरिएको बिरोधमा अविभावकले खोटाङमा एक विद्यालय अनिश्चितकालिन बन्द गराएका छन् । विद्यालयका ११ जना छात्राहरुलाई बलात्कारको प्रयास गरिएको बिरोधमा अविभावकद्धारा विजयखर्कस्थित चम्पावती मावि अनिश्चितकालिन बन्द गराएका हुन् ।

बिजयखर्क–३ को सहदेवगढीस्थित गुफा हेर्न गएका छात्राहरुलाई सोही विद्यालयको कक्षा–९ मा अध्यायनरत राजन ढकाल, किरण ढकाल र लालबहादुर विश्वकर्माले बलात्कार गर्ने प्रयास गरेपछि दोषीलाई कार्वाहीको माग गर्दै अविभावकले सोमबारदेखि अनिश्चितकालिन विद्यालय बन्द गराएका हुन् ।

छिमेकी गाविस बुइपास्थित चम्पावती उच्च माविमा सञ्चालन भइरहेको एसएलसी परीक्षा हेरेर घर फर्कदै गरेका तीन छात्रहरुले गुफाभित्र पसेको समयमा छात्राहरुलाई आईतबार दिउँसो बलात्कारको प्रयास गरेको अविभावक बद्री ढुङ्गानाले बताउनुभयो ।

आफूहरुलाई ‘पालैपालो गुफाभित्र पस्न’ भन्दै बलात्कारको प्रयास गरेको पीडित छात्राहरुले बताएका छन् । बलात्कारका आरोपित छात्रहरुलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीकालागि अविभावकसँग छलफल भइरहेको प्रधानाध्यापक गोविन्द पोखरेलले बताउनुभयो । यता, घटनाबारे आफूहरुलाई जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले बताउनुभयो ।

विद्यालय प्रशासनको लापर्वाहीका कारण आफ्ना छोरीहरुमाथि अपराधिक घटना भएको अविभावक रमिता खनालले आरोप लगाउनुभयो । विद्यालय समयमा त्यतिका विद्यार्थीलाई बाहिर जानदिनु विद्यालयको गैरजिम्मेवारी भएको अविभावकहरुले बताएका छन् ।