चैत्र–११, खोटाङका राजनैतिक दलका नेताहरुले जिल्लाको बिकास निर्माणमा बिकृति बिसंगती बढेको बताएका छन् । जिल्लाको समग्र बस्तुस्थितिबारे जानकारी लिनकालागि खोटाङ आएका सञ्चार मन्त्रालयका सचिव ध्रुबप्रसाद शर्मा समक्ष उनीहरुले गुणस्तहिन भौतिक पुर्वाधार निर्माण भइरहेको, अनियमितता र गुण्डागर्दी बढेको बताएका छन् । 
एकीकृत नेकपा माओबादी खोटाङका नेता प्रकाश चौंलागाई ‘बिक्रम’ले जिल्लामा गुण्डागर्दी बढेको बताउनु भएको छ । उहाँले यसबारेमा प्रहरी र प्रशासन निरिह देखिएको आरोप लगाउनु भयो । नेपाली कांग्रेसका महासमिति सदस्य रबिप्रकाश राईले स्वास्थ्य क्षेत्रमा बिकृति मौलाएको बताउनु भयो ।   
यस्तै, एमालेका अञ्चल कमिटि सदस्य पिके राईले जिल्लाको कृषि र पर्यटकीय क्षेत्रको बिकासमा जोड दिनु पर्ने बताउनु भयो । एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हरि पोखरेलले ठूला दलहरुले फटाहाहरुलाई संरक्षण गरेको उल्लेख गर्नु भयो । एमाले खोटाङका अध्यक्ष बिशाल भट्टराईले जिल्लामा ल्यण्डलाई फोन बिस्तार गर्न र हुलाक सेवालाई आधुनिकीकरण गर्नमा जोड दिनु भयो । 
यसैगरी, राप्रपा नेपालका अध्यक्ष जीवनकुमार श्रेष्ठले पुःननिर्माण भएका सरकारी भवनहरु गुणस्तरहीन भएको बताउनु भयो । उहाँले सडक निर्माणमा अनियमितता भएको आरोप लगाउनु भयो । नेकपा एकीकृतका सचिव मीनप्रसाद आचार्यले जिल्लामा खानेपानीको व्यवस्थापन नभएको उल्लेख गर्नु भयो । 
यस्तै, संघीय समाजबादी पार्टीका अध्यक्ष सुर्यबहादुर राईले अपराधीलाई छुट दिने प्रबृत्तिले जिल्लामा दण्डहिनता बढेको बताउनु भयो । नवसम्बाद पाक्षिकका सम्पादक कृष्ण आचार्यले शहर र दुर्गम गाउँका पत्रपत्रिकाहरुलाई ठाउँमा राखेर बर्गीकरण गर्न नहुनेमा जोड दिनु भयो ।