चेत्र–१६, स्थानीय सहकारी संस्थाबाट ऋण पाएपछि खोटाङको बुइपाका सर्वसाधारणले विभिन्न व्यवसाय सञ्चालन शुरु गरेका छन् । स्थानीय खोक्चिलिपु साना किसान सहकारी संस्थाबाट सस्तो ब्याजदरमा ऋण पाएपछि उनीहरुले व्यवसायिक पशुपालन, तरकारी खेती तथा विभिन्न व्यवसाय सञ्चालन शुरु गरेका हुन् । 
संस्थाको सदस्य बनेपछि सहकारी संस्थाले व्यवसाय हेरेर १५ हजारदेखि ४० हजारसम्म विना धितो ऋण प्रवाह गर्दै आएको छ । संस्थाबाट प्राप्त ऋणबाट स्थानीयबासीले बाख्रा, बंगुर तथा कुखुरा पालनगरी आम्दानी गरिरहेका हुन् । सहकारीबाट लिइएको ऋणबाट शुरु गरेको गोलबेँडा, काउली र बन्दा खेतीबाट राम्रो आम्दानी भइरहेको बुइपा–५ की टिका मुग्रातीले बताउनुभयो । 
व्यवसाय सञ्चालन गर्नकालागि सहकारीले ऋण उपलव्ध गराएपछि व्यवसायिकरुपमा बाख्रा पालन शुरु गरेको बुइपा–२ का आरमायाँ राईले बताउनुभयो । २०६८ साल पुसदेखि शुरु भएको सहकारी संस्थामा हाल ५ सदस्य रहेको ७४ समुह आवद्धता बनेका छन् । सहकारीको सदस्यता लिनकालागि १ सयदेखि एक हजारसम्मको शेयर खरिद गर्नुपर्ने व्यवस्था छ । 
संस्थाका प्रबन्धक सुचना राईका अनुशार सहकारीले अहिलेसम्म वार्षिक १८ प्रतिशतका दरले ३१ लाख ७५ हजार ७ सया ५० लगानी गरिसकेका छन् । ‘किसानले जुन कामकालागि ऋण माग्छन्, त्यही कामकालागि लगानी गर्नु पर्छ ।’ सहकारी संस्थाका अध्यक्ष पिके राईले भन्नुभयो,–‘तोकिएको शिर्षकमा खर्च भए नभएको अनुगमन भइरहन्छ ।’ गाउँमा रोजगारी सिर्जना गर्ने उद्धेश्यले स्थापना भएको सहकारीको  निक्षेप वचत ७ लाख १३ हजार २ सय ५१ रहेको प्रबन्धक सूचना राईको भनाइ छ । 
उपशाखाको रुपमा सञ्चालन हुँदै आएको सहकारीमा कार्यरत दुई जना कर्मचारीकालागि साना किसान कृषि विकास बैंकले एक वर्षसम्मका लागि तलब उपलव्ध गराएको छ ।