चैत्र–१८, जिल्लामा सञ्चालित विकासे योजना अनुगमनकालागि जिल्ला विकास समिति खोटाङले देशमै पहिलोपल्ट ‘नतिजामा आधारित अनुगमन प्रणाली’ अपनाउने तयारी गरेको छ ।
हालसम्म अपनाइदै आइएको लगानी केन्द्रीत अनुगमन प्रणालीलाई छाडेर जिल्ला विकास समितिले नतिजामा आधारित अनुगमन प्रणाली अपनाउने तयारी गरेको हो ।

जिल्लामा सञ्चालित योजनाहरु अनुगमनकालागि जिल्ला विकास समितिले नतिजामा आधारित अनुगमन प्रणालीका भौतिक निर्माण, कृषि, गरिबी निवारण, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा विभिन्न सूचकहरु तयार पारेको दावी गरेको छ ।

खोटाङमा आगामी आर्थिक वर्षदेखि नतिजामा आधारित अनुगमन प्रणाली अपनाउने योजना बनाइएको जिल्ला विकास समिति खोटाङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हरि गुरागाइँले बताउनुभयो । नयाँ किसिमको अनुगमन प्रणाली कार्यन्वयनमा ल्याउनकालागि जिल्लामा गोष्ठी तथा तालिमहरु सञ्चालन भइसकेको जिल्ला बिकास समितिले जनाएको छ । योजना अनुगमन तथा प्रशासकीय अधिकृत गुरागाँईका अनुशार नतिजामा आधारित अनुगमन प्रणालीमा योजना पूरा भए–भएन भन्दा पनि योजनाबाट प्राप्त परिणाम, परिवर्तन, प्रभाव र फाईदाका बिषयमा अनुगमन गरिन्छ ।

‘यसमा तोकिए अनुशार योजना सञ्चालन भए भएन ? लगानी, खर्च र काम भए भएन ? भन्दा पनि योजनाले नागरिकको जीवनस्तरमा के परिवर्तन ल्याएको छ, भन्ने बिषयमा अध्यायन गरिन्छ ।’–योजना अनुगमन तथा प्रशासकीय अधिकृत गुरागाइँले भन्नु भयो,–‘यो जीवनस्तरमा आएको प्रभावका विषयमा अनुगमन गर्ने विधि हो ।’

यस अनुगमन प्रणालीमा योजनास्थलमा पुगेर स्थानीय उपभोक्ताहरुसँग प्रत्यक्ष भेटघाट गरी छलफलका माध्यायमबाट योजनाको प्रभाव र सुधारका बिषयमा अध्यायन गरिन्छ ।