चैत २०, रासस – खोटाङको हलेसी पोलिक्लिनिक महिना दिनपछि खुलेको छ । पोलिक्लिनिक सञ्चालक तथा बन्दकर्ताबीच सहमति भएपछि गत फागुन १८ गतेदेखि बन्द रहेको पोलिक्लिनिक सोमबारदेखि खुलेको हो ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा मृतक राईको उपचारमा संलग्न डा जीवानन्द मेहतालाई कारबाही गर्ने, पोलिक्लिनिकको सेवा सुविधालाई पारदर्शी ढङ्गले सञ्चालन गर्ने, एमबिबिएस डाक्टर राखेर मात्र पोलिक्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सूचना आह्वान गरेर मात्र कर्मचारी छनोट गर्नेलगायतका बुँदामा सहमति भएपछि बन्द रहेको पोलिक्लिनिक खुलाइएको हो ।

उपचारका क्रममा ज्यान गुमाएका बाम्राङ–२ का ७० वर्षीय चन्द्रसेन राईको आफन्तले बिरामीको मृत्युको विषयमा छानबिनको माग गर्दै पोलिक्लिनिक बन्द गराएका थिए ।

पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएपछि बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले सो विषयमा छानबिनको माग गर्दै आएका छन् ।

यसैबीच, छानबिनका क्रममा मृतक राईको उपचारमा संलग्न डा मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनिकमा काम गर्दै आएको खुलासा भएको छ ।

आयुर्वेदमा एचए उत्तीर्ण मेहताले चीनबाट एमबिबिएस गरेको नक्कली प्रमाणपत्र पेस गरेर उपचार गरिरहेको खुलासा भएपछि मेहताविरुद्ध प्रहरीमा उजुरी परेको छ ।