चैत्र–२०, सुख्खा मौसममा हुने आगलागीबाट बच्नकालागि जिल्ला प्रशासन कार्यालय खोटाङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गर्मी तथा सुख्खा मौसम शुरुभएसँगै हुने सम्भावित आगलागीबाट बच्नकालागि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको हितमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । 
सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आगलागीबाट धनजन र वनजंगललाई क्षती हुनबाट जोगाउनकालागि आगोजन्य वस्तुहरुलाई सावधानीपुर्वक चलाउन आग्रह गरेको छ । 
प्रशासनले वन जंगलमा डढेलो नलगाउन, खर तथा फुसको छानो भएका घरभित्र सतर्कता अपनाएर आगो बाल्न, हावाहुरी चलेको समयमा खुला ठाउँमा आगो नबाल्न, काम सकेपछि आगो निभाउन, सलाई, लाईटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरु केटाकेटीहरुबाट टाढा र सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ । 
यस्तै, चुरोट तथा बिँडीका बलेका ठुटा जथाभावी नफाल्न, पेट्रोल, डिजेल, खाना पकाउने ग्याँस, मट्टीतेलजस्ता प्रज्वलनशील पदार्थलाई होसियारीकासाथ चलाउन र सुरक्षित स्थानमा राख्न, समय–समयमा विद्यूत सर्किट जाँच गराउन, पानीको मुहान, पोखरी, तालतलैयाको संरक्षण गर्न आग्रह गरिएको छ । आगलागी भइहाले तत्काल स्थानीय प्रशासन र प्रहरीलाई खबर गर्न निमित्त प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले आग्रह गर्नुभएको छ ।