चैत्र–२२, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङ्गे दुई युवा १३ दिनदेखि बेपत्ता भएका छन् । गत चैत्र–६ गते मलेसिया पुगेका डाडाँगाउँ–६ का २६ वर्षीय अस्बिन सिग्देल र टेम्मा–९ का २३ वर्षीय प्रदिप खत्री बेपत्ता भएका हुन् ।
खोटाङकै लफ्याङ घर भइ हाल काठमाडौं बस्दै आएका डिल्ली कटवालमार्फत काठमाडौंको प्याराडाईज् मेनपावर कम्पनीबाट खोटाङका चार, सुनसरीका एक र अन्य दुईगरी जम्मा सात जना नेपाली रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । 
बेपत्ताहरुको खोजी र सकुशल नेपाल फिर्ता ल्याउनका लागि वैदेशिक रोजगार विभागमा उजुरी हालिएको सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो । यसका लागि विभागले मेनपावर कम्पनी र एजेण्टलाई विभागमै बोलाएर तत्काल उद्दार गर्न आदेश दिइसकेको पनि संयोजक राइले बताउनुभयो ।
यसअघि मेनपावर कम्पनी र एजेण्टबाटै ठगिएरसँगै मलेसिया पुगेका खोटाङका दुई युवालाई भने, गत १७ गते उद्दार गरिएको थियो । सूचना केन्द्रको पहलमा नेर्पा–४ का ३३ वर्षीय तोयानाथ बास्तोला र दिक्तेल–३ का २३ वर्षीय राजकुमार पाण्डेलाई उद्दार गरिएको हो । उद्दारपछि उनीहरु आफूले कम्पनीमा बुझाएको धरौटी रकम लिने र घर फर्कने तयारीमा रहेको केन्द्रले जनाएको छ । 
संयोजक राईका अनुसार केन्द्रमा आएको निवेदनको आधारमा पिपुल्स फोरममार्फत मेनपावर कम्पनी र एजेण्टलाई प्रतिवादी बनाएर बैदेशिक रोजगार विभागमा उजुरी हालिएपछि उनीहरु नेपाल फर्कन सफल भएका हुन् । 
आफूहरुबाट एक लाख दश हजार रुपैयाका दर धरौटी रकम असुलेर मासिक प्रतिव्यक्ति १ हजार २ सय ५५ रिङ्गेट दिने बताएको पीडितको भनाइ छ । बैदेशिक रोजगारीमा जाँदा मलेसियाको लागि अधिकतम् ८० हजार मात्र धरौटी बापतको रकम लिन पाउने प्रावधान छ ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार तोकिएको काम र दाम नदिए वैदेशिक रोजगारमा जाँदा तिरेको रकम प्रमाणको आधारमा एजेन्ट वा मेनपावर कम्पनीले रोजगारीमा गएका व्यक्तिलाई फिर्ता दिनुपर्ने व्यवस्था छ ।