चैत्र–२३, जागीरबाट अवकाश प्राप्त गरेपछि एउटा कर्मचारीले के गर्लान् ? कुनै व्यवसाय अपनाउलान् वा महिनावारी आउने पेन्सन थाप्दै घर चलाउलान् । तर अवकाश प्राप्त जीवनलाई उपयोगी काममा लगाउनका लागि खोटाङको दिक्तेलस्थित जबरजङ् गणले सेनाका जवानहरुलाई च्याउ खेती सम्वन्धी तालिम दिन थालेको छ । 
अवकाश प्राप्त गरेर व्यारेकबाट घर फर्केपछि पनि सिर्जनशील, व्यवसायमूलक काम गर्ने र आत्मनिर्भरताकासाथ बाँच्ने दक्षता बिकासकालागि गणले सेनाका जवानहरुलाई कन्ये च्याउ खेती सम्वन्धी सीप सिकाउन थालेको हो । 
अवकाश प्राप्त जीन्दगीलाई पनि सेनामा कार्यरत रहेजस्तै उपयोगी र क्रियासिल बनाउनकालागि सीप तथा ज्ञान दिलाउने काम शुरु गरिएको गणपति रामबहादुर थापाले बताउनु भयो । बिशेषगरी अवकाश प्राप्त गर्न लागेका जवानहरुलाई प्राथमिकता दिइएको तालिममा दुई चरणमा गरी दुई सयभन्दा बढि जवानहरुले च्याउ खेती सम्वन्धी तालिम लिइसकेका सेनाले जनाएको छ । 
कतिपय शारिरीकरुपमा दौडन र उफ्रन नसक्ने अशक्त जवानको मनोबल बढाउनकालागि पनि तालिम सहयोगीसिद्ध बनेको जवानहरु बताउँछन् । सेनाका जवानहरुलाई सैनिक पेशाको अनिवार्य ज्ञानको अलवा गत माघदेखि व्यरेकमै प्राबिधिक ल्याएर च्याउ खेती सम्वन्धी ज्ञान दिन थालिएको हो । 
अवकाश प्राप्त जीवनलाई उपयोगी काममा लगाउने सोचको परिणामस्वरुप गणमा च्याउ खेतीको अवधारणा अघि सारिएको गणले जनाएको छ । एक पटकमा ३५ केजीसम्म च्याउ उत्पादन गरेका सेनाका जवानले दुई घरमा च्याउ खेती शुरु गरेका छन् ।