चैत्र–२६, खोटाङको सदरमुकाम दिक्तेलमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधिमा हिमाली क्लव दिक्तेल ‘ए’ ले कब्जा जमाएको छ ।

माटीकोरे सामाजिक सेवा क्लव नेपाल दिक्तेलको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सोल्माली फुटबल समूह सोल्मालाई ४–२ गोल अन्तरले हराउँदै हिमाली क्लव ‘ए’ ले उपाधिमा कब्जा जमाएको हो । हारसँगै सोल्माली फुटबल समूह सोल्मा दोश्रो भएको छ भने, हिमाली क्लव ‘बी’ले तेश्रो स्थान प्राप्त गरेको छ ।

आफ्नो स्थापना दिवसको अवसरमा क्लवले गरेको प्रतियोगितामा प्रथम स्थान हात पार्ने हिमाली क्लव ‘ए’ले नगद २० हजार, दोश्रो हुनेले १५ हजार र तेश्रो स्थान हात पार्ने समूहले १० हजारका साथमा शिल्ड र मेडल हात पारेका छन् । प्रतियोगितामा आयोजक समूहका सुमित श्रेष्ठ अनुशासित खेलाडी घोषित हुनुभएको छ ।

स्थानीय माटिकोरे खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा जिल्लाका १७ समूहले प्रतिष्पर्धा गरेका क्लवका अध्यक्ष राजन केसीले जानकारी दिनुभयो ।