बैशाख–२, खोटाङको पर्यटकीय ठाउँ हलेसी क्षेत्रमा सुँगुर छाडा छोड्न प्रतिबन्ध लगाइएको छ ।
छाडा सुँगुरले फोहोरमैला तथा दुर्गन्ध फैलाएको भन्दै हलेसी महादेबस्थान विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति र गाविसले हलेसी महादेवस्थान वरपर सुँगर छोड्न प्रतिबन्ध लगाएको हो ।
हलेसी मन्दिर वरपर खसी, बाख्रा, कुकुर तथा गाईगोरु पनि छोड्न प्रतिबन्ध लगाउने तयारी भइरहेको समितिले जनाएको छ । 
छाडा सुँगुरका कारण मन्दिर आसपासमा बढेको फोहोरमैला कम गर्नका लागि सुँगुर छाडा छोड्न प्रतिबन्ध लगाइएको स्थानीय शिक्षक तम्बरकुमार राईले जानकारी दिनुभयो ।
छाडा सुँगुरलाई नियन्त्रणमा लिएर कान्जिहाउसमा राखिने र फिर्ता लैजान ६ सय रुपैयाँ तिर्नुपर्ने नियम बनाएको हलेसी महादेबस्थान विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो ।