बैशाख–४, नेपालका सबै जिल्ला तथा विभिन्न देशको भ्रमण शुरु गरेका विश्व सार्क शान्ति ह्वील चेयर पदयात्री तेजबहादुर कार्की खोटाङ आइपुग्नु भएको छ । 

ओखलढुंगाको प्राप्चा–४ का ४९ वर्षीय कार्की नेपाल भ्रमणका शिलशिलामा बुधबार सदरमुकाम दिक्तेल आइपुग्नु भएको हो । 
२०६१ साल जेठ–४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट ह्वील चेयर पदयात्रामा निस्कनु भएका कार्कीको खोटाङ यात्रा ६८ औं जिल्ला हो । श्रीमती सहित दुई जनाको सहयोगमा उदयपुरहुँदै खोटाङ आउनु भएका विश्व सार्क शान्ति ह्वील चेयर पदयात्री कार्कीले सोलुखुम्बू जाने तयारी गरेको जानकारी दिनुभयो । 
‘अपांगले पनि सवालङ्ग व्यक्तीलेजस्तै काम गर्न सक्छ’ भन्ने भनाइलाई पुष्टि गरेर देखाउनकालागि आफूले पदयात्रा शुरु गरेको कार्कीको भनाइ छ । उहाँले आफ्नो कठिन यात्रालाई विश्व शान्ति स्थापना तथा नेपाल सरकार अपांग आयोग गठनका लागि दवाव दिन पनि भएको बताउनुभयो । 
यद्यपी आफ्नो आवाजलाई सरकारले हालसम्म सम्बोधन गर्न बेवास्ता गरेको कार्कीले गुनासो गर्नुभयो । बस चालककारुपमा काम गरिरहेको अवस्थामा २०५८ साल माघ–२३ गते रातको ३ बजे धादिङको जोगीमारामा भएको बस दुर्घटनामा कार्कीको दुबै खुट्टा गुमेको हो । खुट्टाविहिन बने पनि उहाँले जीवनमा हार खानु भएन । 
अपांग बने पनि हिनताबोध गर्नु भएन, बरु शोकलाई शक्तीमा बदल्नु भएको छ । कार्कीले भन्नुभयो, ‘ओछ्यानमा लडेर बस्नुभन्दा अपांगले पनि केही गर्न सक्छ भनेर देखाउने सोच आयो र ह्वील चेयर पदयात्रामा निस्केँ ।’ 
सबैको सहयोग र सहाभूती स्वरुप प्राप्त भएको स्वेच्छिक खर्चबाट यात्रा गर्दै आउनुभएका उहाँले नेपालको भ्रमण सकेपछि अन्य देशको यात्रा शुरु गर्ने जानकारी दिनुभयो । दुई छोरा र एक छोरीका बुबा कार्कीले नेपाल बाहेक मलेसिया, थाईल्याण्ड, लाओस, भियतनाम, बर्मा, बंगलादेश, भूटान, भारत लगातका देशमा पनि भ्रमण गरिसक्नुभएको छ ।