बैशाख – खोटाङको बाम्राङका महिला समुहले गाउँमा विवाह, जन्म तथा मृत्यु दर्ता अनिवार्य गरेको छ । 
विवाह, जन्म तथा मृत्यु दर्ता नगर्दा आइपर्ने समस्यबाट सर्वसाधारणलाई जोगाउनकालागि बाम्राङ–६ को रमितेढुंगा महिला समुहले अनिवार्य विवाह, जन्म तथा मृत्यु दर्ता गर्न गाउँमा अभियान सञ्चालन गरेको हो । 
महिला समुहले विवाह, जन्म र मृत्यु भएको कम्तीमा एक हप्ताभित्र स्थानीय पञ्जिकाधिकारी समक्ष दर्ता गर्न अभियान सञ्चालन शुरु गरेको रमितेढुंगा महिला समुहका अध्यक्ष सीता कार्कीले बताउनुभयो । 
दोश्रो विवाह रोकथाम, अंशबण्डामा आउने समस्य तथा सामाजिक अन्याय र हिंसाबाट महिलालाई जोगाउनकालागि सात दिनभित्र विवाह दर्ता अनिवार्य गर्न अभियान थालिएको अध्यक्ष कार्कीको भनाइ छ । 
यसकालागि समुहले गाउँमा घरदैलो अभियान, छलफल तथा बैठकमार्फत विवाह, जन्म तथा मृत्यु दर्ता गर्दाका फाईदा र नगर्दाका बेफाइदाका बारेमा जानकारी दिइरहेका छन् । 
गाउँमा विद्यालय भर्ना हुने बेलासम्म पनि बालबच्चाको जन्मदर्ता नगर्ने र मृत्यु भएका नागरिकको समयमा मृत्यु दर्ता नगर्ने प्रवृत्ति बढेको भन्दै समुहले जन्म र मृत्यु दर्ता पनि अनिवार्य गरेको महिला समुहका सचिव मीना कार्कीले बताउनुभयो ।