बैशाख–२३, खोटाङमा जारी प्रथम राष्ट्रपति रनिङ कप प्रतियोगीताको पहिलो उपाधि जालपा मावि नुनथलाले हात पारेको छ । 
‘स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद’ भन्ने नारासहित आईतबार सम्पन्न प्रतियोगिताको बिभिन्न इभेण्टमा १४२ अंक ल्याएर जालपा माबि नुनथलाले प्रतियोगीताको पहिलो उपाधी हात पारेको हो । यस्तै, १३१ अंक ल्याएर पञ्च मावि दिक्तेलले दोश्रो र श्रीमावि बाँसबोटे लफ्याङले तेश्रो स्थान प्राप्त गरेको छ । उनीहरुले शिल्ड, मेडलकासाथमा क्रमशः दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार पनि हात पारेका छन् । 
यस्तै, छात्र भलिबलतर्फ कालिका माबि नेर्पा प्रथम, सरस्वति उच्च माबि मात्तिम दोश्रो तथा कुहुडाँडा माबि फेदी र पञ्च माबि दिक्तेल तेश्रो भएका छन् । छात्रा भलिबलतर्फ कालिका माबि खार्मी प्रथम, पञ्च माबि दोश्रो तथा सरस्वति उच्च माबि दिक्तेल र श्रीमाबि बाँसबोटे तेश्रो भएको खेलकुद विकास समिति खोटाङका अध्यक्ष विनोद उदासले जानकारी दिनुभयो । 
यस्तै, छात्रातर्फको ५ हजार मिटर दौडमा जालपा माबि नुनथलाका बिनिता राई प्रथम, सरस्वति उच्च माबि दिक्तेलका मनिसा परियार र जालपा माबि नुनथलाका अर्पणा राई तेश्रो हुनुभएको छ । छात्रतर्फको ५ हजार मिटर दौडमा भने पञ्च माबिका सुरेश रिजाल प्रथम, दिक्तेल इंलिस बोर्डिङ स्कुलका कृष्ण थापा दोश्रो र यादव रिजाल तेश्रो हुनुभएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।