बैसाख–२३, खम्बुवान राष्ट्रिय मोर्चा नेपालले तत्काल नयाँ संविधानसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । 
मोर्चाको जिल्ला कमिटि खोटाङले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । सरकार गठनका क्रममा चार दलले गरेको असंवैधानिक सम्झौताहरुलाई सच्याउँदै चुनावी सरकारलाई सहयोग गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । 
मोर्चाले सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलनको आयोजनागरी आफ्नो पार्टी संविधानसहितको संघीयता, संघीयतासहितको संविधानका साथै, ऐतिहासिक पृठभूमिको आधारमा जातीय राष्ट्र र राज्य निर्माण हुनुपर्छ भन्ने पक्षमा रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘केही समयअघि आफ्ना पार्टीका केही कार्यकर्ता व्यक्तिगत स्वार्थमा लागेर अन्य पार्टी प्रवेश गर्दैमा पार्टी नै एकीकरण भन्न सकिन्न । यस्ता भ्रामक समाचार प्रचारवाजी गर्ने जो केहीलाई कडा कार्वाही गरिने छ ।’ 
प्रमुख चार दलीय सिण्डिकेटमा चुनावी सरकार गठन भएपनि वर्तमान अवस्थामा संविधानसभाको चुनाव गर्नुको अर्को विकल्प नभएको मोर्चाका जिल्ला सचिव माधब खम्बुले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा उल्लेख छ । सदरमुकाम दिक्तेलस्थित आफ्नै पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सचिव तथा प्रचारप्रसार विभाग प्रमुख भूपी कोयीलगायत जिल्ला कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।