बैशाख–२७, बाँदरले बालीनाली खाइदिनेक्रम बढेपछि खोटाङका चार गाविसका किसानले अन्नबाली संरक्षणको माग गरेका छन् । 
खेतबारीमा लगाइएको धान, मकै, कोदो, आलु लगायतका मूख्य बालीनाली बथानका–बथान आउने बाँदरले खाइदिन थालेपछि दिक्तेल, लफ्याङ, नेर्पा र दोर्पाका किसानले जिल्ला प्रशासन कार्यालय समक्ष बालीनाली संरक्षणको माग गरेका हुन् । 
उनीहरुले अहिले किसानको मूख्य समस्याका रुपमा देखा परेको ‘बाँदर आतंक’ हल गर्न प्रशासनलाई गुहारेका छन् । बिहिबार चार गाविसका १ सय २१ जना किसानको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै किसानहरुको टोलीले पीडित किसानलाई क्षतीपूर्तीको व्यवस्था गर्न र बाँदरलाई अन्यत्र धपाउने प्रभावकारी विधि खोजीदिन प्रशासनसमक्ष आग्रह गरेका छन् । 
बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएपछि जग्गा बाँझिन थालेको र भोकमरी शुरु भएको दिक्तेल–४ का किसान पदमप्रसाद आचार्यले बताउनुभयो । जंगल तथा जंगलभित्र पाइने बिभिन्न प्रजातीका फलफुलको बिनास भएसँगै बाँदरले गाउँ पसेर खेतबारीको अन्नबाली बिनास गर्न थालेको किसानहरुको गुनासो छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष गाउँमा सबैभन्दा बढि बाँदर आतंक बढेको स्थानीय कृषक सोम पाण्डेले बताउनुभयो । 
गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न समेत खाइदिन थालेपछि किसानहरु हैरान बनेका छन् ।