बैशाख–२७, नेकपा–माओवादीले खोटाङका पाँच किसानको हडपिएको जग्गा साहुबाट फिर्ता गराएको छ । 
स्थानीय साहु चन्द्रसिं बस्नेतले हडपेको डुम्रेधारापानी–५ का किसान तुलबहादुर मगर, डिल्लीराम मगर, डुम्रेधारापानी–९ का सिताराम बस्नेत, रामबहादुर बिश्वकर्मा र डुम्रेधारापानी–७ का रत्नबहादुर पौड्यालको जग्गा नेकपा–माओबादीले फिर्ता गराएको हो । 
किसानहरुले २०५८ सालमा रावा खोलाको ऐलानी जग्गाको ढाँड र बगर पन्छाएर बनाएको खेतमा चन्द्रसिं बस्नेतले हैकम जमाएको भन्दै बस्नेतबाट जग्गा खोसेर पुःन किसानहरुलाई सुम्पिइएको नेकपा–माओवादी खोटाङका बिषेश एरिया सेक्रेटरी झमप्रसाद आचार्यले बताउनुभयो । किसानको जग्गा फिर्ता गर्नकालागि पटक–पटक गरेको पार्टीको आग्रहलाई चन्द्रसिंले बेवास्ता गरेको भन्दै जग्गा खोसेर किसानलाई नै फिर्ता दिलाएको नेकपा–माओवादीले जनाएको छ । 
हडपिएको जग्गालाई कव्जाको घोषणा गर्दै अर्को निर्णय नभएसम्मकालागि सम्बन्धित किसानलाई नै फिर्ता गराइएको नेकपा–माओवादी खोटाङका सह–सेक्रेटरी उत्तरले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । चन्द्रसिंले किसान तुलबहादुर मगरको खेतबाटै धान समेत उठाएर लगेको नेकपा–माओवादीको आरोप छ ।