रामधन  बेदना /खोटाङ
जेठ–५, 
               ‘सुनकोसी बग्यो सलल अरुण र तमोर भेटाउन
               म आउँछु त्यै नदी तरेर, मायाँको तुलबुल मेटाउन
              ए सिम्मौ वारी र पारीको ज्यान एउटै बनाउन ।’ 

  पुर्वी पहाडी जनजीवनलाई लछप्पै भिजाउने एउटा निख्खर लोक भाकाको स्थायी हो यो । किराती पृष्ठभूमिमा तयार भएको यो गीतले सरदर बजारको गीत भन्दा गहन भाब र उचाई लिएको छ । वरिष्ठ गायक तथा संगीतकार जीतेन राईको गज्जब परिकल्पनाका कारण यो गीत जीवन्त बनेको गीतसंगीत पारखीहरु बताउँछन् । 
उसो त जीतेनले हालसम्म लेख्नुभएको, संगीत गर्नुभएको र गाउनुभएको हजारौं गीतहरु उत्तिकै चर्चामा आएर जनजिब्रोमा झुण्डिएका छन् । तीमध्ये पनि मौलिक किराती बाजाहरुको संयोजनमा तयार पारिएको यस गीतले बिशेषगरी संस्कृतिप्रेमी श्रोता तथा दर्शकको मन तानिरहेको गीतसंगीत सम्बद्द ब्यक्तित्वहरुले बताएका हुन् ।
गायक तथा संगीतकार राईले गीतमा नयाँ प्रयोग स्वरुप एलम्बर बाजा, चरीबाजा, मर्चुङगा, बिनायो, पात, सुशेलीको संगीत संयोजन गरी गीतलाई अतुलनीय र अमर बनाउनुभएको किरात जागरणका एक अभियन्ता कुशल किरावाले उल्लेख गर्नुभएको छ । 
स्वयम राईले गाउनुभएको लोक भाकाले समस्त किराती मनहरुलाई हुरुक्कै बनाउने श्रोता दर्शकको प्रतिक्रिया छ । जीतेन राई किराती साँस्कृतिक सङ्गीतका एक धरोहर भएको भन्दै उहाँको कामकै कारण उहाँको नामसँग आफुहरुले गर्ब गर्ने संगीतकर्मी गीतसंगीतकर्मी श्रष्टा मनोज साङसोनको प्रतिक्रिया छ । 
राईको शब्द, संगीत, बाद्यबादन र स्वरको तादम्यताका कारण गीतले मन छोएको श्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् । 
बिदेशी तथा आधुनिक बाजाहरुको प्रयोग नै नगरी मौलिक बाजाहरुमा पनि यति मिठो गीत बनाउन सकिने प्रमाण जीतेन राईले पेश गर्नुभएको संस्कृतिकर्मीको भनाई छ । पश्चिमी शैलीको गीतहरुले बजार मिचिरहेको सन्दर्भमा यस्ता गीतसंगीतको बिशेष महत्व रहने संगीतकर्मीहरुको धारणा छ ।
राईकै शब्द, संगीत, स्वर तथा बाद्यबादनमा तयार गीतको भिडियो संस्कृतिकर्मी तथा निर्देशक रोशन राईको निर्देशनमा तयार भएको हो । किराती सभ्यता, इतिहास, मिथक तथा मौलिकता सम्बन्धी गीतसंगीत, गीति भिडियो एबम चलचित्र समेत निर्माण गर्दै आउनुभएको राईको यस गीति भिडियोलाई म्युजिक नेपालबाट सार्बजानिक गरिएको छ । 
 शान्ति राईको ब्यवस्थापनमा निर्माण भएको गीति भिडियोको लागि मनि चाम्लिङले क्यामेरा चलाउनुभएको जनाईएको छ ।

(हेर्नुहोस भिडियो 🙂