बैशाख–२९, किराती राष्ट्रिय मुक्ती मोर्चा खोटाङले अव हुने संविधानसभाको निर्वाचनबाट पहिचान बिरोधीहरुलाई नामेट पार्ने दावी गरेको छ । 
सदरमुकाम दिक्तेलमा हालै सम्पन्न मोर्चाको तेश्रो जिल्ला सम्मेलनले यस्तो निर्णय पारित गरेको हो । 
अहिले मूलुकको लडाई पहिचान चाहने र नचाहनेहरुकावीच भइरहेको भन्दै पहिचानपक्षधरहरुको विजय हुने दावी गरेको छ । पहिचान नचाहनेहरुले जनताको त्याग र बलिदानीबाट प्राप्त संविधानसभा संविधानै नबनाई विघटन गराएको आरोप लगाउँदै वर्तमान सरकारले निर्वाचन गराउँन नसके मोर्चाले सडकबाटै किरात गणराज्य निर्माण गर्ने दावी गरेको छ । गणराज्य निर्माणका लागि सबै शक्तिहरुवीच बृहत किराती मोर्चा घोषणा गर्ने मोर्चाका जिल्ला अध्यक्ष लक्ष्मीकुमार राईले जानकारी दिनुभयो । 
मोर्चाले केन्द्रीय समितिमार्फत सञ्चालन भइरहेको उभौली अभियानलाई जिल्ला कमिटिलगायत गाउँगाउँसम्म पूर्णरुपले कार्यान्वयन गर्ने निर्णय गरेको छ । अभियान अन्तरगत मोर्चाले आगामी जेठ ३० गते तुवाचुङमा बृहत कार्यक्रम गरी उभौली अभियानलाई समापन गर्ने निर्माण गर्ने निर्णय गरेको छ । 
‘पहिचान सहितको संघीय संविधान निर्माण हाम्रो अभियान, बृहत किराती एकताको निम्ति तेश्रो जिल्ला सम्मेलन’ भन्ने मूल नाराकासाथ सम्पन्न सम्मेलनले पारित गरेको निर्णय सार्वजानिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा कोचिला राज्य सम्मेलन आयोजक समिति सदस्य असोक राई, मोर्चाका केन्द्रीय सल्लाहकार तथा एकीकृत नेकपा माओवादी खोटाङका सम्मेलन आयोजक समिति सदस्य दुर्गाजयन्ती राई, जिल्ला कमिटिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।