रामधन बेदना /खोटाङ,
जेठ–६, खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित समीक्षालय हल शनिबार खचाखच भरिएको थियो । बाहिर घरी घाम घरी पानी अर्थात ‘कि चर्कियोस घाम कि दर्कियोस पानी’ को अवस्था भईरहँदा हलभित्र भने गडगडाहट ताली पड्किरहेको हुन्थ्यो ।
सय मिटर जति टाढा स्थानीय हेलिप्याडमा आयोजित बृहत सांगीतिक कन्सर्टमा जम्मा हुने मानिसहरु पनि सोही समीक्षालय हलतिर घुस्रिन पुगेका देखिन्थे । यसर्थ एकै साथ नजिक–नजिकै आयोजित कन्सर्ट स्थल सुनसान बन्यो भने जिल्लाब्यापी लोकगीत प्रतियोगिताको हल ठेलमठेल ।

युवायुवतीको ठूलो उपस्थिती रहेको हलभित्र तीन बिसा माथिका देखि ५ बर्षमुनिका बालबालिका समेत लोक गीतसँग रमाईरहेको पाईन्थ्यो । साँघुरो स्थानमा छमछमी नाच्नेको होडबाजीले पनि उक्त कार्यक्रमको रौनकता प्रष्ट्याउँथ्यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जिल्लामै पहिलो पटक आयोजना गरेको जिल्ला स्तरीय लोक गीत प्रतियोगितामा गाउँगाउँबाट अनपेक्षित रुपमा उपस्थितीे थियो । बिभिन्न स्थानबाट १३ जना प्रतिस्पर्धीले लोक गीत प्रस्तुत गरेको कार्यक्रममा गायक तथा संगीतकार शिवसंगम राई, चर्चित लोक गायिका राधिका हमाल, गायक कृष्ण रेउले लगायतको बेजोड प्रस्तुतीसँगै लोक गीत पारखी झुमेका थिए ।

कार्यक्रममा गायक दिपेन्द्र सिटौला, धर्मराज पोखरेल, मित्र अधिकारी, शिखर गजरकोटे, निशा कार्की, सिर्जना बर्देवा र अर्जुन नेपालीले समेत प्रस्तुति दिएका थिए । प्रविधिको बिकाससँगै आगन्तुक गीतसंगीतले बजार समाईरहेको सन्दर्भमा खोटाङका स्थानीयमा भने लोकगीत मोह बढेको पाईएको छ । जिल्लामा शहरीकरण बढेसँगै आधुनिकतातर्फ ढल्किेने युवाहरुको संख्या उल्लेख्य पाईए पनि लोकगीत मोह झनै बढेर आएको पाईएको हो ।
पाश्चात्य शैली पछ्याउँदै आएको संगीतबजारमा लोक भाकाहरुको महत्व बढेर आएको गीतसंगीत पारखीहरु बताउँछन् ।

जिल्ला व्यापी खुला लोक गायन प्रतियोगिताको उपाधि पर्शुराम गजमेरले हात पार्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा बेदना राई दोश्रो, युवराज राई तेश्रो र हर्कराज लोहार चौथो हुनुभएको निर्णायक मण्डलको गायक तथा संगीतकार शिब संगम राईले जनाउनुभयो । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमशः एघार हजार १ सय ११, पाँच हजार ५ सय ५५, दुई ५ सय २५ र चौथो हुनेले दुई हजार १ सय २१ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजकले बताएका छन् । प्रतियोगिताका विजेता र उपविजेताले प्रदेश स्तरीय लोक गायन प्रतियोगितामा भाग लिन पाउने समेत अवसर प्रदान गरिएको छ ।

प्रतियोगिताको विजयीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेवी राई, निर्माण व्यवसायी संघका संरक्षक कुमार आचार्य, प्रतिष्ठानका मानार्थ सदस्य धर्मराज पोखरेल र तुवाचुङ कन्ट्रक्शन प्रालिका सञ्चालक सुनिल राईले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसैबीच, गायक हर्क गदालको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गरिएको छ । उपाध्यक्षमा चञ्चल पोखरेल, सचिव पर्शुराम गजमेर, सहसचिव जीवन राई र कोषाध्यक्षमा अमिता राई चयन हुनुभएको छ ।