जेठ–१, स्थानीय अगुवाको दवावपछि खोटाङ सदरमुकाम दिक्तेल–५ का दलित बालबालिकाले दलित भत्ता पाएका छन् । लामो समयदेखि गाविस सचिवले विभिन्न बाहनामा भत्ता दिन आलटाल गर्दै आएको गुनासो आएपछि स्थानीय अगुवाहरुको दवावपछि ६ जना बालबालिकाले भत्ता पाएका हुन् । 
आफ्नो बालबच्चासहित गाविसको कार्यालयमा गएका दलित परिवारले प्रतिबालबालिका दुई सय रुपैयाँका दरले भत्ता बुझेर फर्किएका छन् । गत असोज यता भत्ता पाउन नसकेका दलित बालबालिकाहरुलाई गाविसको कार्यालयमा बोलाएर सचिवलाई भत्ता दिन लगाइएको स्थानीयबासी एवं नेपाल कम्यूनिष्ट पार्टी खोटाङका सचिव मीनप्रसाद आचार्यले बताउनुभयो । 
कतिपय दलित अबिभाबकलाई आफ्ना पाँच वर्षमुनिका बालबच्चाले भत्ता पाउने विषयमा थाहा नहुँदा दलित बालबालिका सो भत्ता लिनबाट बञ्चित बनीरहेका आचार्यको भनाइ छ । दुई रोपनीभन्दा कम जग्गा भएका र पाँच वर्ष उमेर ननाघेका दलित परिवारका दुईजना बालबच्चाले मासिक दुई सय रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।