जेठ–२, मलेसियामा आवश्यक कागजात लुटिएपछि खोटाङका एक युवालाई स्वदेश फर्कन समस्या भएको छ । 
पासपोर्टलगायतका महत्वपूर्ण कागजात लुटिएपछि अर्खौले–८ का ३० वर्षीय दुर्गराज राईलाई स्वदेश फर्कन समस्या भएको हो । 
राजधानी क्वालालम्पुरमा काम गर्दै आएका राई आवश्यक आगजातको अभावमा ६ वर्षअघिदेखि घर फर्कन नपाएको बुबा धनवर्ण राईले बताउनुभयो । रोजगारीका सिलसिलामा मलेसिया पुग्नु भएका राईलाई घर फर्कने वाताबरण मिलाइदिन बुबा धनवर्ण राईले सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङ समक्ष उजुरी दिनुभएको छ ।
उद्धारकालागि उजुरी परेपछि सुचना केन्द्रको पहलमा जिल्ला प्रशासन कार्यालयबाट राईको पूर्णपरिचय खुल्ने सिफारिस बनाएर मलेसिया राजदुताबास समक्ष पठाइएको केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो । मलेसिया दुतावासलाई ट्राभल्स डकुमेन्टमार्फत राईलाई स्वदेश फिर्ता पठाउने वाताबरण बनाउनकालागि आग्रह गरिएको सूचना केन्द्रले जनाएको छ । 
१० वर्षअघि पहिलोपल्ट र ६ वर्षअघि दोश्रो पल्ट मलेसिया पुग्नु भएका राई हाल पूरानै कम्पनीमा काम गर्दै आउनु भएको परिवारको भनाइ छ ।