जेठ–४, युवाहरुलाई नियन्त्रणमा लिएर कुटपिट गर्नमा संलग्न प्रहरीविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको छ । 

खोटाङका एकसहित ओखलढुंगाको थाक्लेका ११ जना युवाहरुलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्नमा संलग्न प्रहरीका विरुद्ध शुक्रबार एड्भोकेसी फोरम उदयपुर शाखाले जिल्ला अदालत खोटाङमा यातना सम्वन्धी क्षतीपूर्तीको माग गर्दै मुद्दा दायर गराएको हो ।
पीडितपक्षको आग्रहमा एड्भोकेसी फोरमका तर्फबाट अधिवक्ताद्धय मोहनबहादुर कार्की र श्यामनन्द चौधरीले इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी सहायक निरीक्षक श्याम पौड्याल, प्रहरीचौकी धितुङका प्रहरी सहायक निरीक्षक नेत्रबहादुर श्रेष्ठ र इलाका प्रहरी कार्यालय हलेसी विरुद्ध मुद्दा दायर गराउनुभएको हो । उनीहरुका विरुद्ध यातना सम्वन्धी ऐन २०५३ अनुसार क्षतीपूर्तीकालागि मुद्दा दायर गरिएको मिलन राईले बताउनुभयो । 
रामनवमीको अवसरमा हलेसी मेला भर्न आएका बाहुनीडा“डा–६ का दिनेश राई, उदयपुर थाक्ले–६ का गन्धुराम राई, थाक्ले–५ का हिराचन्द्र राई, कविरङ राई, तीर्थराज राई, सविना राई, थाक्ले–८ का मिलनकुमार राई, थाक्ले–३ का सनिका राई, भीममाया मगर लगायतलाई प्रहरीले नियन्त्रणमा लिइ कुटपिट गरेको भन्दै उनीहरूले मुद्दा दायर गराएका हुन् । 
उनीहरुका अनुसार हलेसीस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले विना कारण नियन्त्रणमा लिइ यातना दिएकाले यातनासम्बन्धी ऐन २०५३ अन्तरगत जनही एक लाख रूपैया“ क्षतिपूर्तिका लागि मुद्दा दायर गरिएको छ ।
जिल्लामा प्रहरीका विरुद्ध परेको यो पहिलो मुद्धा मानिएको छ । सामान्य विवादको विषयलाई लिएर प्रहरीले दर्शन गर्न र मेला भर्न हलेसी आएका खोटाङको बाहुनीडाँडा र ओखलढुङ्गा थाक्लेका युवाहरुलाई नियन्त्रणमा लिएर गत बैशाख–७ गते निर्घात कुटपिट गरेको पीडितपक्षको भनाइ छ । हलेसीस्थित श्रीराम कपडा पसलमा सामान्य भनाभन भएको विषयलाई लिएर उनीहरुलाई प्रहरीले कुटपिट गरेका थिए ।