जेठ–६, खोटाङका एक उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण मारमा परेका छन् । दोर्पास्थित उपस्वास्थ्यचौकीका अहेव गगनदेव शाह हाजिर हुन नआउँदा स्थानीय सर्वसाधारण तथा बिरामी मारमा परेका हुन् ।
मात्तिम उपस्वास्थ्य चौकीबाट गत पुस–२९ गते दोर्पा उप–स्वास्थ्यचौकीमा सरुवा गरिएका अहेव शाह कार्यालयमा हाजिर नभएपछि सर्वसाधारण मारमा परेका हुन् । उपस्वास्थ्यचौकीमा अवेह नहुँदा बिगत ६ महिनाअघिदेखि स्थानीय सर्वसाधारण उपचार सेवाबाट बञ्चित बनेका छन् । अहेव शाह हाजिर नहुँदा ग्रामीण स्वास्थ्य कार्यकर्ताको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको सेवाग्राहीको गुनासो छ । 
उपचार गरेबापत भारी रकम असुलेको, निशुल्क पाउने औषधि विक्री गरेको, अबैध गर्भपतन गराएको खुलासा भएपछि अहेव शाहलाई मात्तिमबाट दोर्पामा सरुवा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकारीले बताएका छन् । 
कार्यालयले सरुवा गरेपनि मात्तिम नछाडेकाले अहेव शाहलाई कारबाहीकालागि प्रशासन लगायत सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. नवलकिशोर झाले बताउनु भयो । 
शाहको स्थानमा हाजिर हुन मात्तिम गएका अहेव रोशनकुमार नायक स्थानीय अराजक समुहको भौतिक आक्रमणको धम्कीपछि बिस्थापित हुनुभएको छ ।