जेठ–७, खोटाङको वाप्लुखा गाबिसमा रहेको प्रहरी चौकीलाई पाँच लाख बराबरको जग्गा निशुल्क प्राप्त भएको छ । 
आफ्नो भवन अभावमा भाडामा बस्दै आएको प्रहरी चौकी वाप्लुखाको लागि पाँच लाख मूल्य बराबरको पाँच रोपनी जग्गा निशुल्क प्राप्त भएको हो । 
लामो समयदेखि भाडा तिर्दै आएको प्रहरी चौकीका लागि स्थानीय समाजसेवी तथा ७५ वर्षीय वृद्धा पवित्रामायाँ विष्टले निशुल्क जग्गा उपलब्ध गराउनुभएको प्रहरीले जनाएको छ । विष्टले मंगलबार जिल्ला मालपोत कार्यालयमार्फत आफ्नो नाममा रहेको जग्गा प्रहरी चौकीको नाममा रजिष्टेशन पास गरिदिनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक महेन्द्र भटराईले जानकारी दिनुभयो । 
प्रहरी निरीक्षक भीम थेबेको नेतृत्वमा रहेको प्रहरी चौकी वाप्लुखाले सावाकहरे, लिकुवापोखरी र वाप्लुखा गाविस हेर्दै आएको छ ।