
जेठ–८ खोटाङ, हालै गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा खोटाङको सात जना नेता मनोनित भएका छन् । यसअघि सबै भन्दा ठूलो दल बनेको नेकपा (एमाले) र तेश्रो शक्तिको रुपमा कायम भएको नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा माओबादी केन्द्रको चार र एमालेको तर्फबाट तीन जना मनोनित भएका हुन् ।
माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेको तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो ।
यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटिमा बसेका सबै जना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका स्रोतले जनाएको छ । माओवादीको तर्फबाट केन्द्रीय सदस्य बनेका टंक राई यसअघि स्थायी समिति सदस्य हुनुहुन्थ्यो भने अन्य तीन जना पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।
टंक राई पूर्व सांसद हुनुहुन्छ भने समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राई पूर्व सभाषद हुनुहुन्छ । पूर्व सभाषद् रामकुमार राई (पासाङ) अहिले खोटाङ क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।
एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।