जेठ–८, लागूपदार्थ तथा दुव्र्यासनीमुक्त अभियान थालिएपछि खोटाङको बुईपामा मदिरा तथा धुम्रपान सेवनमा कमी आएको छ । 
‘धुम्रपान तथा मद्यपान त्याग’ अभियान थालिएको महिना दिनमै गाउँमा मादक पदार्थ तथा धुम्रपान सेवन गर्नेको संख्यामा कमी आएको स्थानीय भरोसा नेपाल बुईपाका महासचिव लोकमणी रिजालले बताउनुभयो ।
गाविसका २८ जना युवाहरुले स्वत स्फुर्तरुपमा धु्रमपान तथा मद्यपान त्याग गरेको घोषणा गर्दै थालिएको अभियानमा हालः गाउँका अन्य युवाहरुले पनि साथ दिएको महासचिव रिजालको भनाई छ । ‘धुम्रपान तथा मद्यपान त्याग’को अभियान थालिएपछि गाउँका युवाहरुले जाँडरक्सी, चुरोट, बिँडी लगायतका मादक पदार्थ किनेर खान छाडेका छन् । 
अभियानपछि उनीहरु बेलामै घर फर्कन थालेका छन् । नयाँ वर्षको शुरुवातसँगै थालिएको अभियानका कारण हिजोआज गाउँमा पारिवारिक तथा सामाजिक झै–झगडामा पनि कमी आएको भरोसा नेपालका अध्यक्ष राजकुमार राईले बताउनु भयो ।
मद्यपान र धुम्रपानका कारण व्यक्तिगत तथा सामाजिकरुपमा हुने हानीनोक्सानीबाट सबैको बचाउकालागि गाउँमा ‘धुम्रपान तथा मद्यपान त्याग’ अभियान थालिएको भरोसा नेपालले बताएको छ । 
गाउँमा कुलत तथा दुव्र्यसनीलाई न्यूनीकरण गर्नकालागि थप जनचेतनामूलक सडक नाटक तथा अन्तरक्रीय गर्ने तयारी भइरहेको महासचिव रिजालले जानकारी दिनुभयो ।