जेठ १० । सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यका साथ खोटाङ खार्मीका युवाहरुले सामुहिक रुपमा बेसार खेती शुरु गरेका छन् । खार्मी–९ तुर्खाका स्थानीय युवाहरुले नमुना कृषक समूह गठन गरेर बेसार खेती शुरु गरेका हुन् ।

सामुहिक रुपमा शुरु गरिएको बेसार खेतीबाट आएको आम्दानीको २० प्रतिशत रकम समाजक रुपान्तरणका काममा खर्च गर्ने उद्देश्यका साथ बेसार खेती शुरु गरिएको समूहका अध्यक्ष देवकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार पहिलो चरणमा १६ रोपनी जग्गामा एक हजार पाँच सय केजी बेसारको बीउ लगाइएको छ ।

बेसार बिक्री गरेर आएको आम्दानीले समाजमा आईपर्ने दैविक प्रकोप, निम्न आयस्तर भएका परिवार, असाह्य वृद्धवृद्धालगायतलाई सहयोग गरिने अध्यक्ष राईको भनाइ छ । उहाँ भन्नुहुन्छ,–‘समाजमा आइपर्ने आपत्तीमा तत्काल सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले यो व्यवसाय थालेका हौं ।’

पछिल्लो समयमा खेतीयोग्य जमिन बाँझिदै गएपछि बाँझो रहेको जमिनलाई उपयोग गर्दै बेसार खेती शुरु गरिएको समूहले जनाएको छ । बैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनेक्रम बढेसँगै खेती योग्य जमिन बाँझिएपछि बाँझो जग्गालाई उपयोग गर्दै व्यवसायिक रुपमा बेसार खेती शुरु गरिएको समूहले जनाएको छ ।

समूहका अनुसार युवाशक्ति विदेशिनुका साथै जंगली जनावरले दुःख दिएपछि त्यस क्षेत्रका २५ प्रतिशत खेती योग्य जमिन बाँझिएको छ । बाँदर, दुम्सी, मृग, खरायो, कालिजजस्ता पशुपंक्षी बालीनाली नाश गरिदिनेभएपछि उक्त परिणाम बराबरको खेती योग्य जमिन बाँझिएको हो ।

घरमा काम गर्ने जनशक्ति नभएपछि स्थानीय चारजना अभिभावकहरुले कृषक समूहलाई निशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीय रजिन राई, कुमारी राई, नइन्द्र राई र अमृतबहादुर राईले समूहलाई १६ रोपनी जग्गा उपलब्ध गराएका हुन् ।
स्थानीय २१ जना युवाहरुको सहभागिता रहेको समूहमा अवद्ध युवाहरुले मासिक २० रुपैयाँ संकलन गर्ने गरेका छन् । भर्खरै गठन भएको समूहलाई खेती गर्न आर्थिक अभाव भएपछि स्वीस सरकारको आर्थिक सहयोग अन्तरगत किसान–किसान कृषि प्रसार कार्यक्रमको एक लाख २० हजार ऋण लिएको छ । वार्षिक ५० प्रतिशतका दरले फिर्ता गर्ने शर्तमा उक्त ऋण लिइएको समूहले जनाएको छ ।

यस्तै, स्थानीय मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाको समेत ३० हजार ऋण लिइएको समूहका सचिव भुवन राईले जानकारी दिनुभयो । उक्त रकम पनि किस्तामा तिर्नुपर्ने सचिव राईको भनाइ छ ।