जेठ १३ । देशभर एकैसाथ हुन लागेको स्ववियु निर्वाचन खोटाङमा भने अन्यौलमा परेको छ । तोकिएको मितिमा एमाले अखिलले आफ्नो संगठन दर्ता नगराएपछि स्ववियु निर्वाचन अन्यौलमा परेको हो ।

त्रिभुवन विश्व विद्यालयले बिहीबारसम्ममा आ–आफ्नो संगठन दर्ता गराउन सबै विद्यार्थी संगठनलाई आग्रह गरेपनि एमाले अखिलले आफ्नो संगठन दर्ता गराएको छैन । एमाले अखिलले संगठन दर्ता नगराएपछि दिक्तेल बहुमुखी क्याम्पसमा पाँच विद्यार्थी संगठनले मात्र आफ्नो संगठन दर्ता गराएको छ ।

एमाले अखिलले तोकिएको समयअवधिमा आफ्नो संगठन दर्ता नगराएपछि अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अग्रगामी विद्यार्थी युनियन, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले मात्र आफ्नो संगठन दर्ता गराएको हो ।
यसैवीच, संगठन दर्ता गरेसँगै पाँचै विद्यार्थी संगठनले विश्व विद्यालयले सार्वजनिक गरेको तालिका अनुसार नै निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई अनुरोध गरेको छ । संगठन दर्ता गराएसँगै पाँचै विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेर लिखित पत्रसहित तोकिएकै समयमा निर्वाचन हुनुपर्ने माग गरेको हो ।

एमाले अखिलले भने, निर्वाचन समितिले आफूहरुलाई कुनै पनि जानकारी नगराएको भन्दै प्रक्रियागत तवरले कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । दिक्तेल बहुमुखी क्याम्पस सरकारी क्याम्पस नभई जनताको क्याम्पस मात्र भएकाले विश्व विद्यालयले सार्वजनिक गरेको तालिका पुर्नरुपमा लागू गर्नुपर्छ भन्ने नभएको अनेरास्ववियुका जिल्ला संयोजक मिलन राईले बताउनुभयो । कार्यतालिका नै सार्वजनिक नगरी अन्य विद्यार्थी संगठनको इसारामा आयोग चलेको विज्ञप्तीमार्फत आरोप लगाइएको छ ।

उता, यसबारेमा निर्वाचन समिति, क्याम्पस सञ्चालक समिति र विद्यर्थी संगठनवीच त्रिपक्षीय छलफल गरेर समाधान गरिने निर्वाचन समितिका अधिकृत खेमबहादुर खड्काले बताउनुभयो । कुनै एउटा संगठनलाई बाहिर राखेर गरिएको निर्वाचन प्रभावकारी नहुने भएकाले छलफलपछि सहमती खोजिने अधिकृत खड्काको भनाइ छ ।