जेठ–१६ । खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाइएको घट्नाप्रति अन्य तीन विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी तथा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार क्याम्पस प्रमुखको कुर्सी जलाएको घटनाप्रति नेकपा एमाले निकट अनेरास्ववियू, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र संघीय समाजवादी पार्टी निकट अग्रगामी विद्यार्थी यूनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुले विज्ञप्ती जारी गर्दै छलफल तथा संवादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा क्याम्पसमा अराजनीतिक गतिविधि गरेको भन्दै खेद प्रकट गरेका छन् । आसन्न स्ववियू निर्वाचनमा पराजित हुने मानसिकताका कारण अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले राजनैतिक प्रक्रिया र पद्धतिलाई बिर्सिएको विज्ञप्तीमा उल्लेख छ । निर्वाचन समितिले गरेको कमजोरीलाई क्याम्पस प्रशासनसँग जोडेर कुर्सी जलाइएको तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन सम्बन्धी निर्देशिका अनुसार निर्वाचन प्रकृया अघि नबढाइएको भन्दै एमाओवादी निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए ।

खोटाङका अन्य क्याम्पसहरु रावा क्याम्पस खार्पा, खोटाङ क्याम्पस खोटाङबजार, सिम्पानी क्याम्पस सिम्पानी र हलेसी क्याम्पस हलेसीमा भने स्ववियु निर्वाचन प्रकृया निर्वाधरुपमा अघि बढिरहेको छ ।