जेठ १९ । ओखलढुंगाको सोक्माटारमा भएको बस दुर्घटनामा परी एक बालकसहित चार जनाको ज्यान गएको छ ।

खोटाङको हलेसीबाट यात्रु लिएर ओखलढुंगाको हर्कपुरतर्फ जाँदै गरेको बा २ ख ९४५५ नम्बरको बस ओखलढुंगाको थाक्ले–८ सोक्माटारमा दुर्घटना हुँदा एक जनाको घटनास्थमै र तीन जनाको उपचारकालागि उदयपुरको कटारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

आइतबार मध्यह्न भएको बस दुर्घटनामा ओखलढुंगाको हर्कपुर–१ टोक्सेलकी शुष्मा माझीको दुई वर्षीय छोरा समर्पण माझीको घटनास्थलमै र उपचारकालागि लैजानेक्रममा थाक्ले–८ का ३५ वर्षीया ललिकुमार राई, बरुणेश्वर–२ का २८ वर्षीया फडिन्द्रहरि दाहाल र अर्का एक पुरुषको ज्यान गएको हो । ज्यान गुमाउने मध्ये एक पुरुषको सनाखत हुन बाँकी रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य सत्रुधन कार्कीले बताए ।

सोक्माटारस्थित सडकको उकालोमा नियन्त्रण गुमाएर बस सडकबाट खसेको प्रत्ष्ेक्षदर्शीहरुले बताएका छन् । बसमा सवार यात्रुको संख्या यकिन नभएका कारण दुर्घटनामा घाइते हुनेहरुको संख्या पनि यकिन हुन नसकेको कार्कीले बताए । दुर्घटनाबाट बच्न सफल यात्रुहरुका अनुशार पाँच जना गम्भिर घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । केही घाइतेहरुको अहिले कटारी अस्पतालमा उपचार भइरहेको छ, भने ११ घाईतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । दुई जनाको कटारीकै आस्था अस्पतालमा उपचार भइरहेको यातायात व्यवसायी संघले जनाएको छ ।

सिट संख्याभन्दा बढि यात्रु भएकाले बस दुर्घटना भएको बताइएको छ । दुर्घटनामा शनिबार सदरमुकाम दिक्तेलमा सम्पन्न लोकसेवा आयोगको खरिदार पदका लागि भएको परीक्षामा सहभागी परीक्षार्थी बढि रहेको प्रहरीले जनाएको छ ।