जेठ–२८, खोटाङको खाल्लेका स्थानीयबासीले ठेकेदारका कारण अलपत्र बनेको दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङका काम पूरा गर्न माग गरेका छन् । 
ठेकेदारको ढिलासुस्तीका कारण सडक ग्राभेलिङका काम अलपत्र बनेको भन्दै स्थानीयबासीले सदरमुकाम दिक्तेल र खानीडाँडा बिमानस्थल जोड्ने सो सडक ग्राभेलिङका काम तत्काल पूरा गर्न माग गरेका हुन् । 
जिल्ला प्रशासन कार्यालयमा सोमबार ७० जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै उनीहरुले सडक ग्राभेलिङ गर्ने नाममा भत्काएर अलपत्र अवस्थामा छाडेको भन्दै अनुगमन गर्न र काम पूरा गर्न आग्रह गरेका छन् । 
६ किलोमिटर लामो सडक ग्राभेलिङका काम अलपत्र अवस्थामा छाडिएपछि दिक्तेल–खानीडाँडा आवत जावत गर्ने यात्रुबाहक जीप तथा एम्बूलेन्स ठप्प भएको खाल्ले–८ का नेत्रबहादुर कट्वालले बताउनु भयो । 
जथाभाबी फर्काइएका ढलबाट झर्ने वर्षाको भलबाढीले स्थानीयबासीको खेत र बारी पहिरोको जोखिममा परेको खाल्ले–९ रामबहादुर बुढाथोकीले बताउनु भयो । यस्तै, सडकमा बनेको खाल्डाखुल्डीका कारण विद्यालय जानेआउने विद्यार्थी र पैदल यात्रुहरुलाई पनि समस्या भएको उनीहरुको भनाई छ । 
ग्रामिण पहुँच कार्यक्रम ¥यापको आर्थिक सहयोगमा सदरमुकाम दिक्तेलको अल्छेढुंगादेखि अस्पताल हुँदै खानीडाँडा बिमानस्थल पुग्ने सडक ग्राभेलिङका काम थालिएको थियो । 
ठेकेदारले तोकिएको समयमा काम पूरा नगरेको र दातृ संस्था ¥याप पनि जिल्लाबाट फिर्ता जान लागेका कारण सडक ग्राभेलिङका काम अलपत्र बनेको छ । ठेकेदार र ¥यापबीचमा चार महिनामा काम पूरा गर्ने शर्तमा गत माघ–६ गते दोहोरो सम्झौता भएको थियो ।