जेठ–३०, कर्तव्य ज्यान मुद्दाका आरोप लागेका खोटाङका तीन युवालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ । 
खार्मी–६ का ४० वर्षीय ध्रुब श्रेष्ठको छुरी प्रहारगरी हत्या गरेको आरोपमा तीन युवालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको हो । 
छुरी प्रहारमा संलग्न पाथेका–२ का १८ वर्षीय भुदेउ राई तथा बास्पानी–९ का २५ वर्षीय अनुराम राई र २१ वर्षीय अकिल राईलाई केहीदिन अघि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

घटनामा संलग्न तीन युवा पक्राउ परेपनि मुख्य अभियुक्त अबिन राई फरार रहेको जिल्ला प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले जानकारी दिनुभयो । फरार रहेकाहरुको जालपा, बाक्सिला, तालखर्क तथा जिल्ला प्रहरी कार्यालयबाट खटाइएको प्रहरीको टोलीले खोजी गरिरहेको र अभियुक्त चाँडै नै पक्राउ पर्ने प्रहरीले दावी गरेको छ । 
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका पाथेका–६ का ज्ञानराज राई, पर्वत राई र खम्बासिं राईलाई भने सोधपुछपछि छाडिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । 
साकेला पर्वको अवसरमा खार्मीको तुर्खास्थित भुमेस्थानमा गत २० गते पाथेका र जालपाका दुई समुहबीच भएको दोहोरो झडप छुट्याउन गएका श्रेष्ठको छुरी प्रहारबाट मृत्यु भएको थियो ।  
दुई समूहबीचको झगडा छुट्याउनेक्रममा खार्मी–९ का इखबहादुर राई सहित तीन जना घाइते भएका थिए । पूरानो रिसइबिमा जालपा र पाथेकाका केही युवाहरुबीच झगडा भएको प्रहरीको भनाइ छ । 
खार्मीको तुर्खामा हरेक वर्ष बैशाख पूर्णीमाको दशमीका दिन भूमे पूजा गर्दै धुमधामकासाथ साकेला नाच नाच्ने प्रचलन रहिआएको छ ।