असार–४, खोटाङको बुइपामा सञ्चालन हुने प्रत्येक विकास निर्माणका योजनाहरुकाबारेमा होर्डिङबोर्ड राखिने भएको छ । 
सोमबार गाविसमा भएको सार्वजनिक बहस कार्यक्रममा सहभागी राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, दातृ निकाय, उपभोक्ता समितिलगायतले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागीहरुले बिगतका योजनाहरु प्रभावकारी नभएको भन्ने निष्कर्ष निकालेसँगै आगामी योजनाका बारेमा अनिवार्यरुपमा होर्डिङबोर्ड राख्ने निर्णय गरेको हो । 
बाल सेवा समाज नेपाल नेर्पाद्धारा सञ्चालित स्थानीय निकाय अनुदान खर्च पुनरावलोकन तथा समुदायको संलग्नता सर्वेक्षण कार्यक्रम ‘एलजीएफ’ अन्तर्गत आयोजना गरिएको बहस कार्यक्रममा गाविसको प्रतिनिधिको रोहबरमा बनेको उपभोक्ता समितिले माग गरेका योजनालाई मात्र प्राथमिकता दिने, एक लाखभन्दामाथिका रकम निकासा गर्नका लागि चेक प्रयोग गर्ने, कुनैपनि योजनाको रकम हिनामिना गर्ने व्यक्तिले उपभोक्ता समितिमा बस्न नपाउनेलगायतका प्रतिवद्धाहरु गरिएको छ । 
यसका लागि स्थानीय वडा नागरिक मञ्चका संयोजकको नेतृत्वमा अनुगमन टोली समेत गठन गरिएको छ । वडा नम्बर–७ का वडा नागरिक मञ्चका संयोजक गोकुलमान राईको संयोजकत्वमा बनेको अनुगमन टोलीमा स्थानीयबासीका तर्फबाट राजकुमार रम्तेल र बाल सेवा समाजका तर्फबाट कमला तामाङ सदस्य रहनुभएको छ । 
कार्यक्रम संयोजक खेम खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका ध्रुवा राई, नेपाली काग्रेसका मिश्री शाक्य, नेकपा एमालेका दिनेश राई, गाविस सचिव मोहनप्रसाद आचार्य, दातृ निकायका प्रमुख तथा प्रतिनिधि, लक्षित वर्ग, सरोकारवालालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको रेकर्ड रुपाकोट सामुदायिक रेडियोबाट प्रशारण गर्ने व्यवस्था समेत मिलाइएको छ ।