खोटाङ जेठ–११,                                                            शिबिरमा स्वास्थ्य परीक्षण गराउँदै महिला

खोटाङका महिलाहरुमा पाठेघर खस्ने समस्याको बिकराल रुप पाईएको छ । पहाडी जिल्लाका ग्रमिण भेगमा बसोबास गर्ने महिलाहरुको पाठेघर खस्ने समस्याले बिकराल रुप पाईएको बिशेषज्ञ डाक्टरहरुले जनाएका छन् ।

शुक्रबार जिल्ला सदरमुकाम दिक्तेलबजारमा शुरु भएको दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या भएको अधिकांश महिलाहरु आएको बताईएको छ ।                       
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मनमोहन मेमोरियल अस्पताल काठमाण्डौंको संयुक्त आयोजनमा सञ्चालित शिबिरमा आउनुभएको स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर मनोर दिन सैयदले जिल्लामा यो समस्याले बिकराल रुप लिएको पाईएको बताउनुभयो ।
सानै उमेरमा विबाह गर्ने, कम समयको जन्मान्तर, उचित आहाराको कमी लगायतका कारण सानै उमेरका महिलाहरुमा पनि पाठेघर खस्ने समस्याबाट ग्रसित पाईएको डाक्टर सैयदको भनाई छ । ३०–३२ बर्षको उमेरमै ४ देखि ५ जनासम्म बच्चा जन्माएको महिलाहरु समेत उपचारको लागि आएकोमा योनीबाट गन्हाउने पानी बग्ने समस्या पनि उल्लेख्य संख्यामा रहेका छन् । 
चेतनाका अभाबको कारण समयमै उपचार गराउन लजाउने, स्वास्थ्य संस्थामा प्रशुति नगराउने, आवश्यक प्रोटिन पर्याप्त नपाउने कारण समेत महिलाहरुमा समस्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।  
मनमोहन मेमोरियल शिक्षण अस्पतालका प्रबन्धक तथा डाक्टर धर्मदत्त सुवेदीले सोही नगरपालिकाकी–१ की ८० बर्षीया कर्मसरी राईकोे चेकजाँज गरेर सुरुवात गरिएको शिबिरको पहिलो दिन ७ सय ४२ जनाले निशुल्क स्वास्थ्य सेवा पाएका छन् । 
निःशुल्क शिविरमा फेमिली मेडिसिन तथा पेट रोग, सामान्य चिकित्सा, स्त्री तथा प्रसुती रोग, शल्य चिकित्सा, बालरोग रोग, हाडजोर्नी सम्बन्धि उपचार भइरहेको जिल्ला अस्पतालले जनाएका छन् ।
शिविरमा पहिचान भएका पाठेघर सम्बन्धिका बिरामी र बिरामीका सहयोगीलाई आयोजकले सम्पुर्ण खर्च सहित थप उपचारका लागि राजधानी लैजाने ब्यवस्था समेत गरिने मेयर दिपनारायण रिजालले बताउनुभयो । यसअघि, जिल्लाकै दिप्रुङ गाउँपालिकाले आयोजना गरेको बृहत स्वास्थ्य शिबिरमा पनि अधिकांश महिलाहरु पाठेघर खस्ने समस्या लिएर उपचार लिन आएका थिए ।